Kathmandu Press

सात प्रदेशमा कुन दलको शक्ति कति? 

समग्र परिणाम हेर्दा प्रदेश १ मा मात्र सत्ता गठबन्धनमा सामेल दल र एमालेसहितका इतर समूह बराबरीको अवस्थामा छ। अरू ६ वटै प्रदेशमा सरकार गठनका लागि सत्ता गठबन्धनको पल्लाभारी छ। 
सात प्रदेशमा कुन दलको शक्ति कति? 

काठमाडौं, मंसिर २५ : मंसिर ४ मा सम्पन्न निर्वाचन परिणामअनुसार नेपाली कांग्रेस वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठुलो दल बन्न सफल भएको छ। 

समग्र परिणाम हेर्दा प्रदेश १ मा मात्र सत्ता गठबन्धनमा सामेल दल र एमालेसहितका इतर समूह बराबरीको अवस्थामा छ। अरू ६ वटै प्रदेशमा सरकार गठनका लागि सत्ता गठबन्धनको पल्लाभारी छ। 

४० सिट रहेको कर्णाली प्रदेशसभामा कांग्रेस प्रत्यक्षमा ९ र समानुपातिकमा ५ सहित जम्मा १४ सिट जित्दै पहिलो दल बनेको छ। प्रत्यक्षमा ९ र समानुपातिकमा ४ समेत १३ सिट प्राप्त गरी माओवादी केन्द्र दोस्रो ठुलो दल बनेको छ। एमालेले प्रत्यक्षमा ५ र समानुपातिकमा ५ गरेर १० सिट मात्र जितेको छ। यस्तै एकीकृत समाजवादी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समानुपातिकतर्फ १–१ सिट प्राप्त गरेका छन्। त्यहाँ १ जना स्वतन्त्र उम्मेदवारले पनि जितेका छन्। 

कुल ५३ सिट रहेको सुदूरपश्चिम प्रदेशसभामा कांग्रेसले प्रत्यक्षमा १२ र समानुपातिकमा ७ गरी कुल १९ सिट जितेको छ। यस्तै माओवादी केन्द्रले प्रत्यक्षमा ८ र समानुपातिकमा ३ सहित कुल ११ सिट जितेको छ। यता एमालेले प्रत्यक्षमा ३ र समानुपातिकमा ५ गरी कुल ८ सिट जितेको छ।

सुदूरपश्चिम नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा ५ र समानुपातिकमा २ गरी ७ सिट जितेको छ। नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी ४ सिट जितेको छ। राप्रपाले समानुपातिकमा १ सिट मात्र जितेको छ। सुदूरपश्चिममा एक जना स्वतन्त्रमा विजयी भएका छन्। 

यसैगरी ९३ सिट रहेको प्रदेश १ मा एमालेले प्रत्यक्षतर्फ २५ र समानुपातिकतर्फ १५ गरी ४० सिट जितेको छ। कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ गरी २९ सिट जितेर एमालेपछि दोस्रो ठुलो दल भएको छ। 

माओवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ सहित १३ सिट जितेको छ। एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ सहित कुल ४ सिट जितेको छ। राप्रपाले प्रत्यक्षमा २ र समानुपातिकमा ४ गरी ६ सिट जितेको छ। जसपाले समानुपातिकमा १ सिट पाएको छ। गठबन्धनका लागि तुलनात्मक रूपमा कमजोर रहेको प्रदेश १ मा गठबन्धन इतरको १ सिट मात्र बढी देखिन्छ। 

मधेस प्रदेशका कुल १०७ सिटमध्ये एमालेले प्रत्यक्षमा १५ र समानुपातिकमा ८ गरी २३ सिट जितेको छ। कांग्रेसले प्रत्यक्षमा १३ र समानुपातिकमा ९ गरी २२ सिटमा जित हासिल गरेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ४ गरी जम्मा ८ सिट जितेको छ।

मधेसमा जनता समाजवादी पार्टी (जसपा) ले प्रत्यक्षमा ९ र समानुपातिकमा ७ सिट गरी १६ सिट जितेको छ। एकीकृत समाजवादीले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी कुल ७ सिट जितेको छ। यता लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले प्रत्यक्षमा ७ र समानुपातिकमा २ गरी कुल ९ सिटमा जित हासिल गरेको छ। जनमत पार्टीले प्रत्यक्षमा ६ र समानुपातिकमा ७ गरी कुल १३ सिट जितेको छ।

मधेसमा राप्रपा नेपाल, संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले समानुपातिकतर्फ १÷१ सिट मात्र प्राप्त गरेका छन्। मधेस प्रदेशमा ६ जना स्वतन्त्र सांसद विजयी भएका छन्।  

११० सिट रहेको वाग्मती प्रदेशसभामा कांग्रेसले प्रत्यक्षमा २५ र समानुपातिकमा १२ गरी कुल ३७ सिट जितेर पहिलो दल बनेको छ। एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट जितेर दोस्रो ठुलो दल बनेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा १४ र समानुपातिकमा ७ गरी २१ सिट जितेर तेस्रो ठुलो दल बनेको छ।

वाग्मतीमा राप्रपाले प्रत्यक्षमा ७ र समानुपातिकमा ६ गरी १३ सिट जितेर चौथो ठुलो दल बनेको छ। नेमकिपाले प्रत्यक्षमा १ र समानुपातिकमा २ सिट प्राप्त गरेको छ। हाम्रो नेपाली पार्टीले प्रत्यक्षमा १ र समानुपातिकमा १ सिट प्राप्त गरेको छ। 

त्यस्तै कुल ६० सिट रहेको गण्डकी प्रदेशसभामा नेपाली कांग्रेसले प्रत्यक्षमा १८ र समानुपातिकमा ९ गरी कुल २७ सिट जितेको छ। एमालेले प्रत्यक्षमा १२ र समानुपातिकमा १० सिट गरी कुल २२ सिट जितेर कांग्रेसपछि दोस्रो ठुलो दल बनेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा ४ र समानुपातिकमा ३ गरी जम्मा ७ सिट जितेर तेस्रो दल बनेको छ। प्रत्यक्षतर्फ नेपाल समाजवादी पार्टीले १ सिट र स्वतन्त्रले १ सिटमा जितेका छन्। गण्डकीमा राप्रपाले समानुपातिकबाट २ सिट प्राप्त गरेको छ। 

८७ सिट रहेको लुम्बिनी प्रदेश सभामा पनि परिणामले सत्ता गठबन्धनकै पल्लाभारी देखाएको छ। एमालेले प्रत्यक्षमा १८ र समानुपातिकमा ११ गरी कुल २९ सिट जितेको छ। कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १० सहित जम्मा २७ सिट जितेर दोस्रो ठूलो दल बनेको छ। माओवादी केन्द्रले प्रत्यक्षमा ५ र समानुपातिकमा ४ गरी कुल ९ सिट जितेको छ। 

गण्डकीमा जसपाले प्रत्यक्षमा २ र समानुपातिकमा १ सिट जितेको छ। नागरिक उन्मुक्ति पार्टी र राप्रपाले प्रत्यक्ष र समानुपातिकमा २–२ सिट जितेका छन्। लोसपाले प्रत्यक्षमा २ र समानुपातिकमा १ सिट जितेको छ। जनमत पार्टीले प्रत्यक्ष र समानुपातिकमा १–१ सिट जितेको छ। राष्ट्रिय जनमोर्चाले समानुपातिकमा १ सिट जितेको छ। यहाँ तीनजना स्वतन्त्र सांसद निर्वाचित भएका छन्। 


 

प्रकाशित मिति: १७:४४ बजे, सोमबार, मंसिर २६, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्