सरकारका प्रवक्ता भन्छन्– हिंसात्मक क्रियाकलापमा संलग्नलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन अध्यादेश

काठमाडौं, मंसिर २६ : सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हिंसात्मक क्रियाकलापमा संलग्नलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउन अध्यादेश ल्याउन लागिको बताएका छन् ।
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न सोमबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री कार्कीले भने,‘‘आन्तरिक एकताका साथ सहज वातावरणमा सबैलाई काम गर्न दिने मनशायका साथ मुलुकको राजनीतिक प्रणालीसँग असहमत रही हिंसात्मक क्रियाकलापमा संलग्न राजनीतिक दल वा समूहलाई शान्तिपूर्ण राजनीतिको मूलधारमा ल्याउने उदेश्यका साथ यो अध्यादेश हामीले सम्माननीय राष्ट्रपतिमा सिफारिस गरेका छौं।’
उनले मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका लागि अध्यादेश ल्याउने निर्णय गरिएको बताए । मन्त्री कार्कीले यसअघि पनि पटकपटक अध्यादेश ल्याएको स्मरण समेत गरे । ‘यो अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर मुलुकलाई योगदान गर्न चाहने सबैलाई सहज वातावरण सिर्जना गर्नका निमित्त सम्माननीय राष्ट्रपतिमा मन्त्रिपरिषदले सिफारिस गरेको छ,’ उनले भने ।
सरकारले टिकापुर घटनाका मुख्य दोषी रेशम चौधरीलाई आममाफी दिनका लागि अध्यादेश ल्याउने तयारी गरेको हो । यससम्बन्धमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले चर्को विरोध गरेको छ भने कांग्रेसभित्रै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा अध्यादेशको विरुद्ध उत्रिएका छन् । विरोधबारे मन्त्री कार्कीले भने मुलुकमा एकता आवश्यक रहेको र त्यसकाल लागि सबैको योगदान रहोस् भन्ने उद्धेश्यका साथ अध्यादेशको सिफारिस गरेको बताए ।










-ink-1740145571.jpeg)
