क्रिसमस डे : समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गरोस्
काठमाडौं, पुस ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मालम्बीहरुको महानपर्व ‘क्रिसमस डे’का अवसरमा आज एक शुभकामना सन्देश दिनु हुँदै स्व....

काठमाडौं, पुस ९ : राष्ट्रपति विद्यादेवी भण्डारीले इसाई धर्मालम्बीहरुको महानपर्व ‘क्रिसमस डे’का अवसरमा आज एक शुभकामना सन्देश दिनु हुँदै स्वदेश तथा विदेशमा रहेका इसाई धर्मावलम्बी नेपाली सबैको सुस्वास्थ्य, सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना गरेकी छिन् ।
नेपाल बहुसांस्कृतिक विशेषतासहित सुदृढ सामाजिक एकता कायम भएको मुलुक भएको भन्दै बहुमूल्य सम्पदाको रुपमा रहेका चाडपर्व र संस्कृतिको संरक्षण एवं संवद्र्धन गर्नु हामी सबैको साझा दायित्व भएको उल्लेख छ ।
‘क्रिसमस डे’लगायतका पर्वले विभिन्न समुदायबीच सद्भाव र समन्वय अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको पनि सन्देशमा उल्लेख छ । यस पर्वले सबै नेपालीबीच बन्धुत्व, आपसी प्रेम र एकताको भावना बढाएर शान्त र समुन्नत नेपाल निर्माण गर्न प्रेरणा प्रदान गर्ने विश्वास उनले लिएकी छिन् ।
यस्तै उपराष्ट्रपति नन्दबहादुर पुनले आज एक शुभकामना सन्देश जारी गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक एवं भौगोलिक विविधताले भरिपूर्ण हाम्रो देश धर्मनिरपेक्ष राष्ट्र भएको उल्लेख गरेका छन् ।
राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले शुभकामना सन्देश जारी गर्दै मुलुकको विकास र समृद्धिको अभियानमा जुट्न आह्वान गरेका छन् ।











