राप्रपाले निर्वाचन आयोगमा पठायाे समानुपातिकतर्फ २४ सांसदको नाम

काठमाडाैं, मंसिर २४ : राप्रपाले प्रतिनिधि र प्रदेशसभाको समानुपातिकतर्फका २४ सांसदको नाम निर्वाचन आयोगमा बुझाएको छ ।
पार्टी केन्द्रीय कार्यसम्पादिन समितिको बैठकले दिएको जिम्मेवारी अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले सूची निर्वाचन आयोगमा पठाएका हुन।
केन्द्रीय कार्यासम्पादन समितिको बैठकमा समानुपातिकका केही नाममा विवाद भएपछि सबै टुंगो लगाएर सूची पठाउने जिम्मेवारी लिङ्देनलाई दिएको थियो । सोहीअनुसार नेताहरुसँग परामर्शमा लिङ्देनले आयोगमा सूची पठाएको प्रवक्ता ज्ञानेन्द्र बहादुर शाहीले जानकारी दिए।
राप्रपाको सूचीमा प्रतिनिधिसभातर्फको समानुपातिकमा पूर्वअध्यक्ष पशुपति शमशेर राणाको नाम रहेको निश्चित भएपनि अन्यको विषयमा भने खुलाएको छैन। विशेषगरी प्रतिनिधिसभातर्फ २ पुरुषतर्फका २ सिटमा राणाको नाम अनुमोदन भएपनि अर्का पूर्वअध्यक्ष डा प्रकाश चन्द्र लोहनी रहने कि उपाध्यक्ष बुद्धिमान तामाङ रहने भन्ने विषयमा विवाद देखिएको नेताहरूको भनाइ छ। अन्य समानुपातिक नाममा पनि आकांक्षी धेरै भएपछि सूची गोप्य राखेर आयोगमा पत्राचार भएको बताइएको छ। प्रवक्ता शाहीले भने निर्वाचन आयोगले तोकेको मापदण्ड र आचारसंहिता अनुसार नै राप्रपाले समानुपातिक सूचीमा सांसदको नाम पठाएको दाबी गरेका छन।
त्यस्तै फरक प्रसंगमा उनले जनताले दिएको म्याण्डेट अनुसार राप्रपा तत्काल सरकारमा नजाने पनि प्रष्ट पारे। राप्रपाले प्रतिनिधिसभातर्फ ७, प्रदेश १ मा ४, मधेसमा १, बागमतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २, कर्णालीमा १ र सुदूरपश्चिम प्रदेशमा १ जना समानुपातिक सांसद छानेको हो ।











