समानुपातिकमा नपरेपछि रास्वपाका गणेश कार्कीले भने– नेतृत्वले आफ्नालाई काखी च्याप्दा म छुटें, पार्टीलाई दुरुपयोगबाट बचाउन सकिनँ
जति प्रयास गरे पनि थिति बसाउन नसकिएको उनको भनाइ छ। आशा गरिएको पार्टीलाई दुरुपयोग हुनबाट रोक्न नसकेको भन्दै उनले गुनासो गरेका छन्।
काठमाडाैं, मंसिर २४ : राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले समानुपातिक सिट बाँडफाँटप्रति असन्तुष्ट जनाएका छन्।
आज (शनिबार) सामाजिक सञ्जालमार्फत उनले पार्टी नेतृत्वले आफ्नालाई काखी च्याप्दा पर्ने पक्कापक्की भएर पनि आफू पर्न नसकेको बताएका छन्।
‘म नि झन्डै सांसद भएको थिएँ। हुन्थेँ पनि। यदि राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री तथा प्रवक्ता मुकुल ढकालजीले आफ्नो गुरुमालाई गुरुदक्षिणा र आफ्नो कर्मचारीलाई अवसर दिन नपरेको भए,’ उनले फेसबुकमा लेखेका छन्।
उनले याे पनि लेखेका छन्, ‘किनभने, १२ वटा क्लस्टरमा पार्टीभित्र प्रारम्भिक निर्वाचन भएको थियो। म खस आर्य खुलातर्फको दोस्रो नम्बरमा र दीपक बोहोरा तेस्रो नम्बरमा थियौं। समावेशी र आरक्षणको विषय के हो भने खुलातर्फबाट महिलाको ३३ प्रतिशत पुगेन भने मात्रै ३३ प्रतिशत पुर्याउने गरी महिलालाई राख्नै पर्ने हुन्छ । नियम त्यहि हो । विधी त्यही हो। त्यहीअनुसार पहिलो प्राथमिकता हाम्रो पार्टीबाट ५ जना महिला पर्ने र बाँकी खुलाबाट हुनुपर्ने हो। यसैले मेरो र दिपकजीको सांसद हुने पक्कापक्की नै हो। तर आफ्नालाई काखी च्यापियो।’
जति प्रयास गरे पनि थिति बसाउन नसकिएको उनको भनाइ छ। आशा गरिएको पार्टीलाई दुरुपयोग हुनबाट रोक्न नसकेको भन्दै उनले गुनासो गरेका छन्।
‘मैले अन्तिमसम्म थिति, बिधि भन्दै आवाज उठाइरहें। यत्रा मानिसहरुले आशा गरेको पार्टीलाई दुरुपयोग गर्नबाट रोक्न सकिनँ। मेरो भागमा पर्ने कमजोरी स्विकार्दै माफी चाहन्छु। तर यो यात्रा रमाइलो थियो। पुरानालाई एउटा दामी धक्का हानिएकै हो तर त्यसको उपलब्धिको दुरुपयोग भयो,’ उनले भने, ‘यो यात्रामा साथ दिने, मलाई विश्वास गरेर घण्टीमा भोट दिने वा माग्ने सबैप्रति आभारी छु।’
उनले रास्वपालाई समर्थन गर्ने कि नगर्ने व्यक्तिगत अधिकारको कुरा भएको उल्लेख गर्दै आफ्नो ब्रह्मले सही ठानेको निर्णय गर्न पनि आम जनतालाई आग्रह गरेका छन्। फोन, म्यासेज, ट्याग गरेर समानुपातिकमा किन नपरेको भनेर सोध्ने सबैको चासोप्रति असिम सम्मान रहेको उनले बताएका छन्। अलगअलग जवाफ दिन सम्भव नभएकाले फेसबुकमा लेखेको उनको भनाइ छ।
रास्वपले आजै मात्र ७ पुरुष र ६ महिला गरी समानुपातिकतर्फ १३ जनाको नाम निर्वाचन आयोगलाई बुझाएको छ। जसमा सन्तोष परियार, शिव नेपाली, डा। ढाकाकुमार श्रेष्ठ, इन्दिरा राना मगर, सुमना श्रेष्ठ, डा. चन्दा कार्की, डोलप्रसाद अर्याल, निशा डाँगी, विनिता कठायत, लक्ष्मी तिवारी, मनीष झा, अशोक चौधरी र असिम साह छन्।











