रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता हुनुले विश्वमा नेपाललाई चिनाउने महत्वपूर्ण अवसर : प्रचण्ड
शनिबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी यु-१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै दाहालले सो कुरा बताएका हुन्। उनले एसिया रग्बीले खेलका लागि नेपाललाई अवसर दिएपछि रग्बी खेल विकासमा गति लिने विश्वास व्यक्त गरे।
काठमाडाैं, मंसिर २४ : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा रग्बीको अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजनाले देश चिनाउन महत्वपूर्ण योगदान रहने बताएका छन्।
शनिबारदेखि काठमाडौंको दशरथ रंगशालामा सुरु भएको एसिया रग्बी यु-१८ सेभेन्स च्याम्पियनसिपको उद्घाटन गर्दै दाहालले सो कुरा बताएका हुन्। उनले एसिया रग्बीले खेलका लागि नेपाललाई अवसर दिएपछि रग्बी खेल विकासमा गति लिने विश्वास व्यक्त गरे।
अध्यक्ष दाहालले हरेक देशको अर्थतन्त्रको विकास, अन्तर्राष्ट्रिय भाइचाराको विकासमा र विश्वबन्धुत्वको क्षेत्रमा पनि खेल क्षेत्रले ठूलो भूमिका खेल्ने बताए।
उनले आफूले पहिलोपटक रग्बी खेललाई प्रत्यक्ष हेरेको भन्दै आफू पनि युवाकालको खेलाडी भएकाले प्रत्येक खेलप्रति विशेष अभिरुचि रहेको बताए। त्यस्तै अध्यक्ष दाहालले खेल आजको दुनियाँमा विभिन्न देशका जनताको सम्बन्ध, युवाको आपसी सम्बन्ध, देश र जनताबीचको सम्बन्धलाई अझ सुदृढ गर्ने माध्यम भएको उल्लेख गरे।
कार्यक्रममा युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजले नेपाल खेलकुद सम्भाव्यता भएको मुलुक रहेको बताए। उनले नेपालको तराईदेखि हिमालसम्म भौगोलिक विविधता रहेकाले सबै प्रकारका खेलका लागि उपयुक्त रहेको बताए।
मन्त्री गहतराजले खेलकुद पूर्वाधार निर्माणमा सरकारको चासो रहेको बताउदै भक्तपुरको चाँगुनारायणमा रग्बी मैदान निर्माण गर्ने प्रक्रिया समेत अघि बढेको जानकारी दिए।
दशरथ रंगशालामा जारी दुई दिने रग्बी प्रतियोगितामा पुरुषतर्फ ८ र महिलातर्फ ५ टिमले प्रतिस्पर्धा गर्नेछन्।











