Kathmandu Press

देशले यतिखेर साझा सहमतिको बिन्दु खोजेको छ : अध्यक्ष नेपाल

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उहाँले देशले एकता र साझा सहमतिको बिन्दु खोजेको बताए। 
देशले यतिखेर साझा सहमतिको बिन्दु खोजेको छ : अध्यक्ष नेपाल

भक्तपुर, मंसिर २४ : नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले देशले यतिखेर साझा सहमतिको बिन्दु खोजेको बताएका छन्।

भक्तपुरको सूर्यविनायक नगरपालिका-५ सूर्यनगरमा सूर्यनगर टोल विकास समाजले आज आयोजना गरेको नवनिर्वाचित प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यलाई बधाई, शुभकामना तथा चियापान कार्यक्रममा उहाँले देशले एकता र साझा सहमतिको बिन्दु खोजेको बताए। 

जनताले निर्वाचित गरेका नेताहरुले आफूप्रति इमान्दारिता र जनताप्रति बफादार भएर लाग्नुपर्ने औंल्याउँदै उनले भने, 'हामी आफ्ना आफ्ना खुबी, क्षमता, वाक कटुता, व्यक्तिको छाप प्रयोग गरी राजनीतिक खेलको मैदानबाट उत्रिएका छौँ, जित्नु ठूलो कुरा होइन, जनतासँग हामीले जुन प्रतिबद्धता व्यक्त गरेका छौं, त्यो पूरा गर्न इमान्दार र जनताप्रति बफादार भएर काम गर्नुपर्छ।'

चुनावमा गरेका प्रतिबद्धता पूरा गर्न जनतासँग जोडिएर अगाडि बढ्नुपर्नेमा जोड दिँदै अध्यक्ष नेपालले जनताको आवाज सुन्ने, उनीहरुको पीडालाई सम्बोधन गर्ने, जनताको असीमिति चाहना, इच्छा र माग पूरा गर्न तथा अत्यावश्यक चाहनालाई पूरा गर्ने काममा लाग्नुपर्नेमा जोड दिए। जनताले मन पराएका छैनन् भने नेताहरुले फकाउन सक्नुपर्ने उल्लेख गर्दै अध्यक्ष नेपालले जनतालाई फकाउन, मिलाउन र साथमा लिएर समस्या समाधानमा लाग्नुपर्ने बताए। 

उनले भने, 'आश्वासन दिँदा त्यहाँ ठाउँ राख्नुपर्छ, जनताका सबै माग पूरा गर्न सकिँदैन, सक्दो कोसिस गर्नुपर्ने हुन्छ।' अध्यक्ष नेपालले नेपालको अर्थतन्त्र संकटतर्फ बढेको भन्दै यसलाई कसरी सुधार्ने भनेर समीक्षा गर्नु आवश्यक रहेको बताए। राजनीतिक परिवर्तनसँगै अब आर्थिक परिवर्तन र विकासको दायित्व पूरा गर्नुपर्नेमा उनले जोड दिए।

कार्यक्रममा भक्तपुर क्षेत्र नंं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेपाली कांग्रेसका सभापति दुर्लभ थापाले अहिलेको आवश्यकता सरकारको नेतृत्व कसले गर्नेभन्दा पनि देशमा स्थायित्व दिन सक्ने, समृद्धिका लागि कहीँ, कतै नअलमलीकन अगाडि बढ्ने गरी स्थिर सरकार निर्माण गर्नुपर्ने बताए। 

भक्तपुर क्षेत्र नं २ (१) बाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य किरण थापाले भोट माग्न जाँदा जनतासँग गरेका वाचा पूरा गर्ने प्रतिबद्धता जनाए। भक्तपुर क्षेत्र नं २ ९१० बाट निर्वाचित बाग्मती प्रदेशसभा सदस्य डा राजेन्द्रमान श्रेष्ठले व्यवस्थित रुपमा विकासका पूर्वाधार निर्माण गर्दै जनतासँग गरेका प्रतिबद्धता पूरा गर्ने बताए।

कार्यक्रममा नेपाली कांग्रेस सूर्यविनायक नगर सभापति निसान ढुंगेल, जिल्ला खेलकुद विकास समिति भक्तपुरका अध्यक्ष दीपक थापा, सूर्यनगर टोल विकास समाजका सल्लाहकार एवं नेपाल पत्रकार महासंघ भक्तपुरका सचिव गोविन्द चौलागाइँ, समाजका अध्यक्ष एवं कार्यक्रमका सभापति बालकृष्ण न्यौपानेलगायतले यहाँका खानेपानी, सडकलगायत समस्याबारे चर्चा गरेका थिए।

गायक नवीन कार्कीले कार्यक्रममा विभिन्न गीतहरु प्रस्तुत गरेका थिए। कार्यक्रममा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राई, प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेत, नेपाल टेलिभिजनका महाप्रबन्धक फूलमान बललगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: १५:२० बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्