समानुपातिक सांसदको नाम टुंग्याउँदै दलहरू
आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको आज अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर्ने गरी दलहरु तयारीमा जुटेका हुन्।
काठमाडौं, मंसिर २४ : समानुपातिक सांसदको अन्तिम सूची पेस गर्न निर्वाचन आयोगले दिएको समयसीमाभित्र पार्टीका तर्फबाट प्रतिनिधित्व हुने समानुपातिक सांसदको टुंगो लगाउन दलहरु बैठक र छलफलमा केन्द्रित छन्।
आयोगले समानुपातिक संसद्को अन्तिम सूची पेस गर्न दिइएको आज अपराह्न ४ बजेसम्मको समयभित्रै सांसदको सूची पेस गर्ने गरी दलहरु तयारीमा जुटेका हुन्।
मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको अन्तिम नतिजा आएपछि आयोगले दलहरुले प्राप्त गरेको समानुपातिक सिट सङ्ख्याको अन्तिम सूची आजसम्म बुझाउन निर्देशन दिएको थियो।
केही साना दलले समानुपातिक सूची टुङ्गो लगाइसकेका छन् भने ठूला दल नेपाली कांग्रेस, एमाले, नेकपा माओवादी, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपातिक सांसदको सूची टुंग्याएका छैनन्।
लोकतान्त्रिक समाजवादी पार्टीले प्रदेशसभाका लागि समानुपातिक सांसदको सूची तयार गरेर निर्वाचन आयोगलाई बुझाइसकेको छ । लोसपाको केन्द्रीय समितिको बैठकबाट निर्णय भई शुक्रबार आयोगलाई समानुपातिक सांसदको सूची बुझाइसकेको पार्टीको कार्यकारिणी समितिका सदस्य केशव झाले जानकारी दिए।
उनका अनुसार लोसपाका तर्फबाट मधेस प्रदेशमा रुपाकुमारी यादव (मधेसी महिला) र रमिता प्रधान (मधेसी अल्पसंख्यक महिला) तथा लुम्बिनी प्रदेशमा मेमा वेल्वासे केसी (खस आर्य महिला) को नाम समानुपातिकका लागि आयोगमा पठाइएको छ ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फ चार सिट जितेको लोसपाले समानुपातिकमा थ्रेस होल्ड कटाउन नसक्दा राष्ट्रिय पार्टी बन्न सकेन । लोसपाले मधेस प्रदेशमा सात र समानुपातिकतर्फ दुई सिट जितेको छ भने लुम्बिनीमा एक सिट गरी प्रदेशमा कूल १० सिट पाएको छ ।
यस्तै जनमत र नागरिक उन्मुक्ति पार्टीले समानुपातिक सांसदको सूची तयार पारिसकेका छन् । प्रतिनिधिसभामा एक सिट जितेको जनमत पार्टीले समानुपातिकतर्फ पाँच सिट जितेको छ । पार्टीले प्राप्त गरेको समानुपातिकतर्फको सूची आयोगलाई बुझाइएको जनमत पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिनुभयो । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले प्रतिनिधिसभामा तीन र प्रदेशसभामा आठ सिट जितेको छ ।
यता समानुपातिक सांसदको टुङ्गो लगाउन जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक जारी छ। प्रतिनिधिसभा र प्रदेशसभाका लागि समानुपातिक उम्मेदवार चयनका लागि बैठकमा छलफल चलिरहेको सो पार्टीका प्रवक्ता मनिस सुमनले जानकारी दिए।
जसपाले प्रतिनिधिसभामा सात र समानुपातिकतर्फ पाँच गरी १२ सिट जितेको छ । त्यसैगरी प्रदेशमा सबैगरी २० सिट जितेको छ ।











