दुई बुँदे सहमति कार्यान्वयन नभएपछि सरकारबाट बाहिरियौं : उपेन्द्र यादव
काठमाडौं, पुस ८ : समाजवादी पार्टी, नेपाल मंगलबारदेखि नै लागू हुने गरी सरकारबाट बाहिरिएको छ। समाजवादी पार्टीका तर्फबाट नेकपा अध्यक्ष केपी शर्मा ओल....
काठमाडौं, पुस ८ : समाजवादी पार्टी, नेपाल मंगलबारदेखि नै लागू हुने गरी सरकारबाट बाहिरिएको छ। समाजवादी पार्टीका तर्फबाट नेकपा अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा अध्यक्ष उपेन्द्र यादव र मोहम्मद इस्तियाक राई सहभागी थिए।
मंगलबार अध्यक्ष यादवले आफ्नो पार्टी सरकारबाट बाहिरिएको भन्दै प्रधानमन्त्री ओलीलाई राजीनामा पत्र बुझाएका छन्। उपप्रधान तथा कानूनमन्त्रीबाट राजीनामा दिएका यादवले सरकार गठनका बेला नेकपासँग भएको संविधान संशोधनलगायत दुई बुँदे सहमति कार्यान्वयन नभएकाले सरकार छोड्नु परेको बताएका छन्।
कानून, न्याय तथा संसदीय मामिलामन्त्री यादवले ‘सोमबार (पुस ७) मा बसेको मन्त्रिपरिषद् बैठकमा आफूले संविधान संशोधनका लागि आवश्यक गृहकार्य गर्न संविधान विज्ञ सम्मिलित विज्ञ सुझाव समिति गठन गर्न गरेको प्रस्तावलाई अस्वीकार गरेकाले’ आफूले मन्त्रीबाट राजीनामा दिएको विज्ञप्तिमा उल्लेख गरेका छन्।
उनले विज्ञप्तिमा दुई बुँदे सहमतिबाट सरकार पछि हटेको र सहमतिलाई एकतर्फी रुपमा तोडेको पनि आरोप लगाएका छन्। उनले एकलौटीरुपमा प्रधानमन्त्री अघि बढ्न खोजेको भन्दै नैतिकताका आधारमा सरकारमा बसिरहन औचित्य नभएकाले सरकार छोडेको बताएका छन्।
उनीसँगै पार्टीका तर्फबाट सरकारमा सहभागी शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले पनि राजीनामा दिएका छन्।
समाजवादी फोरम संविधान संशोधनलगायत माग पूरा गर्ने शर्तमा सरकारमा सहभागी भएको थियो। तर सरकार गठन भएको दुई वर्ष भइसक्दा पनि संविधान संशोधनको प्रस्ताव अघि बढाउन प्रधानमन्त्री ओलीले मानेनन्।
यादवले मन्त्रिपरिषद् बैठकमा संविधानलगायत विषय राखेर प्रधानमन्त्रीसमक्ष स्मरणपत्र पनि दिएको तर सुनुवाइ नभएको आरोप लगाएका छन्। तत्कालीन संघीय समाजवादी फोरम नेपाल र डा. बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टीबीच एकता भएपछि पार्टी सरकारबाट बाहिरिनु पर्ने आवाज उठ्दै आएको थियो।
पार्टीको बैठकमा डा. भट्टराईले संविधान संशोधनको माग पूरा नभए तत्काल सरकार छोड्नु पर्ने बताएका थिए। समाजवादी पार्टीका तर्फबाट संघीय संसदमा १७ जना सांसद छन्।






