Kathmandu Press

भरतमोहन अधिकारीको स्मरणमा दुई आर्थिक पुरस्कार स्थापना

यो वर्षको ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ यही मङ्सिर २८ गते नाफिजको छैटौं महासभामा प्रदान गरिनेछ।
भरतमोहन अधिकारीको स्मरणमा दुई आर्थिक पुरस्कार स्थापना

काठमाडौं, मंसिर २४ : एमालेका नेता तथा पहिलो कम्युनिष्ट अर्थमन्त्री स्वर्गीय भरतमोहन अधिकारीको स्मरणमा रु. ५० हजार राशिको दुईवटा आर्थिक पुरस्कार स्थापना गरिएको छ।

नेपाल आर्थिक पत्रकार सङ्घ (नाफिज) र भरतमोहन अधिकारी स्मृति फाउन्डेसनको सहकार्यमा आर्थिक समाचार लेखनमा सञ्चारकर्मीहरुको सम्मानका लागि पुरस्कारको स्थापना गरिएको हो।

आर्थिक तथा सहकारीका क्षेत्रमा क्रियाशील आर्थिक पत्रकारको वृत्तिविकास, क्षमता विकास र असल पत्रकारिता अभ्यासमा प्रोत्साहन पुर्‍याउन ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ स्थापना गरिएको हो ।  

पुरस्कारले खोजमूलक आर्थिक पत्रकारितालाई प्रवर्धन गर्ने अपेक्षा गरिएको छ। अधिकारी अर्थमन्त्री हुँदा ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ कार्यक्रम, गाउँगाउँमा सहकारीजस्ता कार्यक्रम ल्याइएको थियो।

फाउन्डेसनकी संस्थापक महासचिव लिमा अधिकारीले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक विकासका लागि अधिकारीले पु¥याएको योगदानको स्मरणमा पुरस्कार स्थापना गरिएको जानकारी दिए।

उनले पुरस्कारलाई साथ दिन पाउँदा सहकारी क्षेत्रमा उहाँले गर्न चाहेका तर अधुरै रहेका कामले सार्थकता पाउने विश्वास व्यक्त गरे। महासचिव अधिकारी स्वर्गीय अधिकारीकी पुत्री हुन्।

नाफिजका अध्यक्ष मोदनाथ ढकालले नाफिज सक्रिय आर्थिक पत्रकारको छाता संस्था भएको बताउँदै खोजमूलक पत्रकारिता प्रवर्धन गर्न पुरस्कारले ठूलो भूमिका खेल्ने तथा समाचारको गुणस्तर र पत्रकारको प्रतिस्पर्धी क्षमता वृद्धि गर्न यस्ता पुरस्कारको महत्व रहेको बताए। फाउण्डेसन र नाफिजबीच भविष्यमा यस्तै पुरस्कार प्रदान गर्न अक्षय कोष स्थापना गर्ने सहमति भएको जनाइएको छ।

यो वर्षको ‘भरतमोहन अधिकारी–नाफिज आर्थिक पत्रकारिता पुरस्कार’ र ‘भरतमोहन अधिकारी–नाफिज सहकारी पत्रकारिता पुरस्कार’ यही मङ्सिर २८ गते नाफिजको छैठौँ महासभामा प्रदान गरिनेछ। पुरस्कार छनोटका लागि दुवै संस्थाको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गरिएको छ।

प्रकाशित मिति: १२:२९ बजे, शनिबार, मंसिर २४, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्