Kathmandu Press

गण्डकीमा गठबन्धनलाई स्पष्ट बहुमत, मुख्यमन्त्री बन्ने खगराजको योजना विफल 

६० सदस्यीय गण्डकी प्रदेशमा प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ ९ सिट गरी २७ सिटसहित कांग्रेस पहिलाे दल बनेको छ ।
गण्डकीमा गठबन्धनलाई स्पष्ट बहुमत, मुख्यमन्त्री बन्ने खगराजको योजना विफल 

काठमाडौं, मंसिर २३ : चुनावताका टिकट वितरणलाई लिएर कास्की एमालेमा ठूलो विवाद र असन्तुष्टि देखियो । त्यहाँ प्रतिनिधि सभा र प्रदेश सभामा को उम्मेदवार बन्ने भन्ने विषयले एमालेभित्र आन्तरिक द्वन्द्व नै उत्पन्न गरायो । 

अघिल्लो निर्वाचनमा प्रदेश सभाबाट विजयी हुँदै गण्डकीको मुख्यमन्त्री बनेका एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ यसपालि पनि प्रदेश सभा लड्दै पुनः मुख्यमन्त्री बन्न चाहन्थे । अघिल्लोपटक पूरा कार्यकाल मुख्यमन्त्री बन्न नपाएका गुरुङ यसपालि पुनः मुख्यमन्त्री बन्दै अघिल्लोपटकका अपूरा कामहरु फत्ते गर्न चाहन्थे। 

तर, उनको चाहनामा कास्कीकै नेता खगराज अधिकारी बाधक बने । अधिकारी र गुरुङबीचको आन्तरिक टसल अहिलेमात्र सतहमा आएको होइन । यी दुई नेताबीचको द्वन्द्व यसअघि पनि विभिन्न चरणमा देखापरे। गुरुङ र अधिकारीबीचको प्रतिष्ठाको लडाईँमा कास्कीमा एमाले नेता कार्यकर्ता नै दुई समूहमा विभाजित छन् । 

पार्टीको नेतृत्वमा पृथ्वीसुब्बा भन्दा खगराज नै बढी निकट देखिन्छन् । प्रतिनिधि सभा विघटन, नेकपा विघटनका सवालमा नेतृत्वको खुला आलोचना गरेकै कारण पृथ्वीसुब्बा नेतृत्वसँगको दूरी टाढिँदै गएको देखिन्छ भने खगराज निकट पात्रका रुपमा उदाउँदै गएका छन् । 

चुनावको टिकट वितरणले पनि खगराज पार्टी नेतृत्वको निकट पात्र रहेको पुष्टि गर्छ । एमालेले खगराजलाई मुख्यमन्त्रीको रुपमा अघि सारेर गण्डकीको चुनाव लडेको थियो। मुख्यमन्त्री बन्ने सम्भावना नरहेपछि पृथ्वीसुब्बा चाहना विपरित लमजुङबाट प्रतिनिधि सभा सदस्यका उम्मेदवार बने र माओवादी केन्द्रका महासचिव देव गुरुङलाई पराजित गरे ।खगराज पनि प्रदेशसभा सदस्यमा निर्वाचित भए । 

व्यक्तिगत रुपमा खगराजले चुनाव जितेपनि गण्डकीमा एमाले नेतृत्वको सरकार  बन्ने सम्भावना भने टरेको देखिन्छ । यसपालि गण्डकीमा सत्तारुढ गठबन्धनले एमालेको गढ भत्काउँदै आफ्नो नेतृत्वमा सरकार बनाउन स्पष्ट बहुमत प्राप्त गरेको छ ।

गण्डकी प्रदेश एमालेको गढ मानिँदै आएको प्रदेश हो । अघिल्लोपटक पृथ्वीसुब्बा गुरुङ एकल बहुमत सरकारको नेतृत्व गरेका थिए । एमाले विभाजन भएपछि पनि एक सिटले एमाले पछाडि थियो । गण्डकीका स्वतन्त्र सांसद दीपक मनाङेले सत्ता गठबन्धनलाई समर्थन गरेपछि एमाले सत्ताच्यूत भएको थियो । यसपालि प्रदेशमा सहज बहुमत आउनेमा विश्वस्त रहेको एमाले पहिलो पार्टी पनि बन्न सकेन । 

६० सदस्यीय गण्डकी प्रदेशमा नेपाली कांग्रेस पहिलो पार्टी बनेको छ । प्रत्यक्षतर्फ १८ सिट र समानुपातिकतर्फ ९ सिट गरी २७ सिटसहित कांग्रेस गण्डकीको सबैभन्दा ठूलो दल बनेको छ ।

समानुपातिकतर्फ भने एमाले पहिलो पार्टी कायम छ । उसले प्रत्यक्षमा १२ सिट जित्दा समानुपातिकमा १० सिट जित्दै एमाले २२ सांसदसहित दोस्रो दल बनेको छ । गण्डकीमा माओवादी केन्द्र ८ सिटसहित तेस्रो दल बनेको छ । उसले प्रत्यक्षमा  ५ र समानुपातिकमा ३ सिट जितेको छ । त्यस्तै राप्रपाले २ सिट मात्रै जितेको छ । स्वतन्त्र उम्मेदवारी दिएर विजयी भएका दीपक मनाङे एकीकृत समाजवादीमा प्रवेश गरिसकेका छन् । 

गण्डकी प्रदेशको अंकगणित हेर्दा त्यहाँ एमाले नेतृत्वमा सरकार बन्ने सम्भावना छैन । सरकार बनाउन आवश्यक तीस सिट उ नेतृत्वको गठबन्धनसँग नहुँदा यसपालि गण्डकीमा एमाले प्रमुख प्रतिपक्षी दलको रुपमा देखा पर्नेछ । 

सत्ता गठबन्धनसँग ३६ सिट छ, जुन सरकार गठनका लागि स्पष्ट बहुमत हो । गठबन्धनको सरकार बन्दा मुख्यमन्त्री को ? भन्ने विषयमा गठबन्धनभित्रका दलहरुबीच रस्साकस्सी हुने निश्चित छ । अघिल्लो पटक एमाले अल्पमतमा परेपछि यहाँ नेपाली कांग्रेसका कृष्णचन्द्र नेपाली पोखरेल मुख्यमन्त्री बनेका थिए । पोखरेल यसपालि चुनाव लडेनन् ।  

केन्द्रमा गठबन्धन भएका कारण प्रदेशको बाँडफाँट हुनै बाँकी छ । अघिल्लोपटकको भागबन्डालाई कायम राखे यसपटक पनि गण्डकी कांग्रेसको भागमा पर्ने निश्चित छ। कांग्रेसबाट मुख्यमन्त्रीका लागि तीन जनाभन्दा बढी आकांक्षी देखिएका छन् । तीमध्ये सुरेन्द्रराज पाण्डेको सम्भावना बढी भएको बताइन्छ । यसअघि राष्ट्रिय सभा सदस्य रहेका पाण्डे मुख्यमन्त्री बन्नकै लागि गण्डकी प्रदेशसभाको चुनाव लड्न पुगेका हुन् । कांग्रेसको बाग्मती प्रदेश सभापति शुक्रराज शर्मा पनि मुख्यमन्त्रीका आकांक्षी छन् । उनी प्रदेशसभाको समानुपातिक सूचीको पहिलो नम्बरमा छन् । 

गण्डकीकै बहालवाला मन्त्री बिन्दुकुमार थापा पनि यसपटक मुख्यमन्त्री बन्ने दौडमा छन् । उनी प्रदेशको कानून, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री छन् । माओवादीबाट हरिबहादुर चुमान मुख्यमन्त्रीका प्रमुख दाबेदार छन् ।

याे पनि 

प्रदेश १ सरकार गठनमा जसपा निर्णायक, कोको छन् मुख्यमन्त्रीका आकांक्षी ?

बाग्मती प्रदेशमा सत्ता गठबन्धनलाई स्पष्ट बहुमत, मुख्यमन्त्रीमा इन्द्र बानियाँ कि शालिकराम ?

प्रकाशित मिति: १५:५० बजे, शुक्रबार, मंसिर २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्