ज्यान मुद्दामा ३० वर्ष कैद सजाय पाएका वृद्ध ३२ वर्षपछि पक्राउ
लहान, पुस ८ : एक नाबालिकासहित तीन जनाको हत्या गरेको अभियोगमा अदालतबाट ३० वर्ष कैद सजाय पाएर फरार एक वृद्धलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ।....

लहान, पुस ८ : एक नाबालिकासहित तीन जनाको हत्या गरेको अभियोगमा अदालतबाट ३० वर्ष कैद सजाय पाएर फरार एक वृद्धलाई सिरहा प्रहरीले ३२ वर्षपछि पक्राउ गरेको छ।
अर्नमा गाउँपालिका–५ (तत्कालीन सिरहा कृष्णपुर गाविस–८) का जगदेव यादवको छोरा रामनाथ यादव र रामचन्द्र यादवको हत्या आरोपमा १० र उहाँकी ६ महिनाकी नातिनीको हत्या आरोपमा २० वर्ष गरी ३० वर्षको कैद सजाय पाएर फरार सिरहा नगरपालिका–२० लगडीगडियानी का ६८ वर्षीय हिरवा सहनीलाई प्रहरीले पक्राउ गरेको हो
जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा सहनीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिए। विसं २०४४ पुस १३ गते अर्नमा गाउँपालिका–५ स्थित आफ्नै घरमा रहेका रामनाथ यादव र रामचन्द्र यादवलाई गोली हानी हत्या गरेको तथा सिरहा नगरपालिका–१९ स्थित गागन खोलामा ६ महिनाकी नातिनीको हत्या गरेको भन्दै मृतकका बुबा जगदेव यादवले जिल्ला अदालत सिरहामा सहनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर गरेको थियो।
सो मुद्दामा सुनुवाइ गर्दै जिल्ला अदालत सिरहाले सो घटनामा दोषी ठहर गर्दै सहनीलाई दुवै दाजुभाइको हत्या अभियोगमा १० वर्ष र नबालिकाको हत्या अभियोगमा २० वर्ष गरी ३० वर्ष कैद सजायको फैसला भएको प्रवक्ता प्रहरी नायब उपरीक्षक बोहराले बताए।











