शम्भु थापाको बहस– चोलेन्द्र र संसदका महासचिवबीच जालसाजीपूर्ण मिलेमतो छ
वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमबीच दुषित मिलेमतो रहेको आरोप लगाएका छन् ।
काठमाडौं, मंसिर २३ : वरिष्ठ अधिवक्ता शम्भु थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमबीच दुषित मिलेमतो रहेको आरोप लगाएका छन् ।चोलेन्द्रको निलम्वन फुकुवाविरुद्ध सर्वोच्चमा परेको रिटमा बहस गर्दै वरिष्ठ अधिवक्ता थापाले जबरा र गौतमबीच मिलेमतो रहेको आरोप लगाएका हुन् ।
‘निलम्बित प्रधानन्यायाधीश र महासचिवको दुषित जालसाजीको परिणाम हो यो पत्र । उनीहरूको पहिल्यै मिलेमतो छ । नभए त्यस्तो पत्र कसरी तयार हुन्छरु सामान्य अवस्थामा त्यस्तो पत्र दर्ता त हुँदैन,’ उनले भने ।
थापाले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा र संसद्का महासचिव भरतराज गौतमले जालसाजी गरेर महाभियोग निष्प्रभावी भएको पत्र तयार गर्नु ‘राजद्रोहात्मक’ काम भएको बताएका छन्। ‘यो राजद्रोह हो र संवैधानिक व्यवस्था खलल पार्ने काम हो,’ उनले भने । थापाले संवैधानिक व्यवस्थालाई नै तहसनहस पार्ने गरी पत्र लेख्नु मानहानीको विषय मात्र नभएको बताएका हुन् ।
वरिष्ठ अधिवक्ता थापाले एकै पटक सर्वोच्चमा दुई जना व्यक्तिले प्रधानन्यायाधीशले झण्डा हालेर हिँड्न नमिल्ने बताए । ‘सर्वोच्चमा दुईवटा प्रधानन्यायाधीश हुन्छ र श्रीमान् रु कायममुकायम पनि झण्डा हालेर हिँड्न, चोलेन्द्र पनि झण्डा हालेर हिँड्ने । को हो त प्रधानन्यायाधीश ? राष्ट्रपतिले पत्र पठाउनुपर्यो तपाईं कायममुकायम हुनुभएन भन्नुपर्ला त्यसको आफ्नै विधि छ होला । चोलेन्द्रले जे गर्न खोजे त्यो मजाक हो,’ उनले भने ।











