‘निलम्बन फुकुवाको पत्र लेख्ने अधिकार संसदका महासचिवलाई छैन’
चोलेन्द्रको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै घिमिरेले संघीय संसद सचिवालय ऐन दफा ९ अनुसार निलम्बन फुकुवाको पत्र लेख्ने अधिकार महासचिवलाई नरहेको बताएका हुन् ।
काठमाडौं, मंसिर २३ : नेपाल बार एशोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरेले महाभियोग निलम्बन फुकुवाको पत्र लेख्ने अधिकार संसद सचिवालयका महासचिवलाई नरहेको बताएका छन् ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसद सचिवालयका महासचिव भरतराज गौतमले दिएको निलम्बन फुकुवाको पत्रविरुद्ध परेको रिटमाथिको बहसमा भाग लिँदै घिमिरेले संघीय संसद सचिवालय ऐन दफा ९ अनुसार निलम्बन फुकुवाको पत्र लेख्ने अधिकार महासचिवलाई नरहेको बताएका हुन् ।
उनले महासचिवको काम कर्तव्य र अधिकारसम्बन्धमा उक्त दफामा स्पष्ट उल्लेख गरिएको बताए । उक्त दफामा महासचिवले संसद सेवाका कर्मचारीको नियुक्ती, अवकास र सजाय सम्बन्धी कार्य गर्ने, निर्देशानुसार सचिवालयको सञ्चालन र व्यवस्थापन सम्बन्धी कार्य गर्ने उल्लेख रहेको स्मरण गराए । त्यस्तै संसद सचिवालयको वार्षिक बजेट, कार्यक्रम र योजना तयार गर्ने अधिकार पनि महासचिवलाई रहेको उल्लेख छ ।
संसद र सचिवालयको लागि विनियोजित बजेट रकम खर्च एवं आर्थिक प्रशासन सम्बन्धी कार्य गर्ने, गराउने, सचिवालयको भौतिक निर्माण, सुधार सम्बन्धी कार्य गर्ने, गराउने, मित्र राष्ट्र, विदेशी कुटनीतिक नियोग तथा अन्तर्राष्ट्रिय निकाय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ संस्थासँग सम्बन्ध कायम गरी सहयोगको आदान प्रदान गर्ने, सचिवालय र अन्य निकाय बीच समन्वय कायम गर्ने, संसद र सचिवालयको चल अचल सम्पत्तिको रेखदेख, स्याहार सम्भार गर्ने र संसद र संसदका समितिको काम कारबाही सञ्चालन गर्न आवश्यक व्यवस्था गर्ने विषय पनि महासचिवको काम कर्तव्य र अधिकारभित्र पर्ने अध्यक्ष घिमिरेले बताए ।











