Kathmandu Press

उपत्यकाको खानेपानी समस्या दीर्घकालिन रुपमा समाधान गर्छौ : मन्त्री चौधरी

उपत्यकाको खानेपानी समस्या दीर्घकालिन रुपमा समाधान गर्छौ : मन्त्री चौधरी

काठमाडौं, मंसिर २३ : खानेपानी मन्त्री उमाकान्त चौधरीले उपत्यकाको खानेपानी समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताएका छन् । 

महाँकालचौरमा आज भएको तेस्रो चरणको मेलम्ची खानेपानी पुनः वितरण कार्यक्रममा मन्त्री चौधरीले काठमाडौँमा अस्थायीरुपमा भए पनि १२ महिना नै पानी वितरण गर्ने दाबी गरे । ‘हामीले पटक–पटक पानी पुनः वितरण गर्नु नपरोस्, हामीले यसलाई दीर्घकालीनरुपमा समाधान गर्नेछौँ,’ उनले भने। 

उनले विज्ञहरुको सल्लाह सुझाव लिएर विगतमा पानी बन्द गरिएको र अहिले बर्षात सकिएपछि पानी वितरण गरिएको बताउनुभयो । वाग्मतीको पानी मेलम्चीको ट्रिटमेन्ट प्लान्टमा ल्याएर वितरण गरेको स्मरण गर्दै मन्त्री चौधरीले विकल्पको रुपमा याङ्ग्री, लार्के, सिस्नेरी, महादेव र ठोस्ने खोला निरीक्षण गरेर मेलम्चीको विकल्पको रुपमा पानी खान सकिने धारणा राखेका थिए । त्यसको लागि आफ्नै कार्यकालमा यसको काम अगाडि बढ्ने उनको भनाइ थियो । 

खानेपानी मन्त्रालयका सचिव मणिराम गेलालले बाढीको कारणले बाटोमा समस्या भएका कारण पानी पुनः वितरण कार्यमा केही ढिला भएको जानकारी दिए। उनले आगामी दिनमा मेलम्ची खानेपानी विगतमा जस्तो बर्सात लाग्ने समय भयो भनेर ज्येष्ठमा बन्द गर्नुपर्ने र हिउँद पर्खेर पानी पुनः खोल्नुपर्ने समस्याको दीर्घकालीनरुपमा समाधान गरिने बताए। उनले खानेपानीका लागि तत्काल गर्नुपर्ने कुनै पनि काममा मन्त्रालय सहयोग गर्न सधैँ तयार रहेको जानकारी दिए। 

केयुकेएलका उपकार्यकारी अधिकृत ज्ञानेन्द्रबहादुर कार्कीले काठमाडौँ उपत्यकाभित्रका १० वटा पानी भण्डारण पोखरीमा पाँच करोड ८३ लाख लिटर पानी भण्डारण गर्ने क्षमता रहेको जानकारी दिए। उनले नयाँ र पुरानो पाइपलाइन मर्मत गर्दै आलोपालो पानी वितरण गर्नेसमेत जनाए । मेलम्ची खानेपानी निर्देशनालयका कार्यकारी निर्देशक राजेन्द्र सापकोटाले उपत्यकाभित्र हाल नयाँ पाइपमार्फत पानी वितरण हुने बताए। उनले उपत्यकाभित्र कूल एक हजार १० किलोमिटर पाइपलाइन रहेको बताउँदै पुरानो पाइपलाइन केही महिनाभित्र मर्मत गर्ने जनाए। 

प्रकाशित मिति: १२:४० बजे, शुक्रबार, मंसिर २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्