सर्वोच्चको सुरक्षा व्यवस्था कडा, वैकल्पिक गेटमा ताला
शुक्रबार चोलेन्द्र पुनः अदालतमा आउनसक्ने सम्भावना रहेपछि सर्वोच्च परिसरमा बाक्लो संख्यामा कानुन व्यवसायी उपस्थित भएका छन् । उनीहरु आज पनि चोलेन्द्रलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने तयारीमा छन् ।
काठमाडौं, मंसिर २४ : निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा सर्वोच्च आउन सक्ने भन्दै अदालत परिसरमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले निलम्वन फुकुवाको पत्र दिएपछि चोलेन्द्र बुधबार नै सर्वोच्च फर्कने तयारी गरेका थिए । तर, सर्वोच्च अदालतका न्यायाधीश, बार एशोसियसन र कानुन व्यवसायीहरु आन्दोलित भएपछि चोलेन्द्र सर्वोच्च उपस्थित भएनन् ।
शुक्रबार चोलेन्द्र पुनः अदालतमा आउनसक्ने सम्भावना रहेपछि सर्वोच्च परिसरमा बाक्लो संख्यामा कानुन व्यवसायी उपस्थित भएका छन् । उनीहरु आज पनि चोलेन्द्रलाई सर्वोच्च अदालत प्रवेशमा रोक लगाउने तयारीमा छन् ।
यस्तो अवस्थामा सम्भावित अप्रिय घटना घट्न नदिन बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ छन्। सर्वोच्च अदालत अगाडिको सडक रामशाहपथमा सुरक्षाकर्मीका तीनवटा ट्रकहरु छन् ।
सर्वोच्च अदालतभित्र अनधिकृत व्यक्ति प्रवेश नगरुन् भनेर पनि चेकजाँच कडा पारिएको छ । आगन्तकुहरुलाई प्रहरीले उनीहरुको परिचय पत्र हेरेर र भित्र जानुको कारणबारे सोधेर मात्रै प्रवेश गर्न दिएको छ ।
सर्वोच्च अदालतमा प्रधानन्यायाधीश प्रवेश गर्ने गेटमा भने ताला लगाएर बन्द गरिएको छ । नेपाल बार एशोसिएसनको भवनतर्फबाट सर्वोच्च अदालतभित्र पैदल हिँडेर जाने गेट भने खुला छ । त्यहाँ पनि सुरक्षाकर्मीहरु तैनाथ छन् ।
कानुन व्यवसायीहरु नेपाल बारको भवनतर्फबाट सर्वोच्च परिसरमा आइसकेका छन् । उनीहरुले प्रधानन्यायाधीश जबरालाई सर्वोच्च अदालत परिसरभित्र प्रवेश गर्न नदिने र आज पनि धर्नामा बस्ने जनाएका छन् ।











