Kathmandu Press

काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौँमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव प्रारम्भ

काठमाडौं, मंसिर २३ : काठमाडौँ अन्तर्राष्ट्रिय फिल्म महोत्सवको २०औँ संस्करण बिहीबारदेखि सुरू भएको छ । राष्ट्रिय सभागृह र पर्यटन बोर्डमा चल्ने उक्त महोत्सवको उद्घाटन समारोहमा आयोजक हिमाल एसोसिएसनका अध्यक्ष वसन्त थापाले काठमाडौँलाई सांस्कृतिक सहरको रुपमा स्थापना गर्नेतर्फ अघि बढ्न आग्रह गरे। अध्यक्ष थापाले काठमाडौँलाई चलचित्र, साहित्य, सङ्गीत, नाटक, सिम्फोनी र अर्केष्ट्राको विश्व हब बनाउनतर्फ महानगरको ध्यानाकर्षण गराउन चाहेको बताए। 

महोत्सवमा कमल कुमारद्वारा निर्देशित वृत्तचित्र ‘बाघको बङ्गारा’ प्रदर्शन गरियो । हेर्ने कथा शृङ्खलाकी सञ्चालिका विद्या चापागाईंले निर्माण गरेकाे उक्त वृत्तचित्रले उत्तरी जाजरकोटको पहाडी भूगोलमा स्थानीयले गर्ने कष्टकर मह सिकारको कथा भन्छ । करिब ५५ मिनेट लामो सो वृत्तचित्रले शारीरिक र मानसिक यात्राको कथा पनि प्रस्तुत गर्छ । प्रदर्शनीपछि निर्मात्री चापागाईं र निर्देशक कुमारले दर्शकसँग यसको छायाङ्कनबारे अनुभव साट्नु भएको थियो ।

Hardik ivf

भारतीय चलचित्रका निर्देशक प्रकाश झाले महोत्सवको शुभारम्भ गर्दै काठमाडौँ आफूलाई मनपर्ने सहरमध्ये भएको र यसलाई सांस्कृतिकरुपमा जीवन्त बनाउनुपर्ने विचार राखे। ‘म दोस्रो पटक काठमाडौँ आएको हुँ । मलाई मेरो फिल्म यहाँ देखाउने इच्छा थियो । त्यो पूरा भयो,’ निर्देशक झाले भने। उनको अभिनय रहेको चलचित्र ‘मट्टोकी साइकिल’को विशेष प्रदर्शन गरिएको थियो । यसका लागि झासँगै निर्देशक एम गनी पनि समारोहमा उपस्थित हुनुहुन्थ्यो । झा र गनीले दर्शकसँग अन्तक्रियासमेत गरेका थिए ।

महोत्सवको पहिलो दिन सम्राट खनालद्वारा निर्देशित ३३ मिनेट लामो वृत्तचित्र ‘थ्रुस् द सिङ्गिङ भिलेज’को प्रदर्शन भयो । जाकुब जेलाद्वारा निर्देशित ४६ मिनेट लामो ‘दु सार : अ काराकोरम स्की एक्सपिडिशन फिल्म’ पनि प्रदर्शन गरियो । यही मङ्सिर २६ गतेसम्म चल्ने उक्त महोत्सवमा ३० मुलुकका ६० भन्दा बढी चलचित्र देखाइने छ । महोत्सवमा  भाग लिन विदेशी चलचित्र निर्माता समेत काठमाडौँ आएका छन्।

सन् २००० देखि सुरु भएको किम्फ महोत्सवमा पर्वत, त्यहाँका बासिन्दा, संस्कृति र वातावरणमाथि बनेका चलचित्र प्रदर्शन गरिन्छन् । महोत्सवमा अन्तर्राष्ट्रियतर्फ प्रथम, दोस्रो र तेस्रो हुनेले क्रमशः रु दुई लाख, रु एक लाख र रु ५० हजार पुरस्कार पाउनेछन् भने नेपाली पानोरामाअन्तर्गत फिक्सन र वृत्तचित्र विधामा उत्कृष्टलाई रु एक लाख र रु ७५ हजार पुरस्कार दिइनेछ ।

 इसिमोड सदस्य मुलुकबाट छानिएका उत्कृष्ट चलचित्रले ‘बेस्ट इसिमोड माउन्टेन फिल्म अवार्ड’ सहित एक हजार अमेरिकी डलर पुरस्कार पाउनेछ । त्यसैगरी महोत्सवमा अत्यधिक दर्शकको मत पाउने चलचित्रले ‘किम्फ अडियन्स अवार्ड’ मार्फत रु ५० हजार पाउनेछ।  

प्रकाशित मिति: १०:४२ बजे, शुक्रबार, मंसिर २३, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्