बलात्कारका आरोपी सिद्धबाबा २४ दिन हिरासतमा
विराटनगर, पुस ८ : बलात्कारको आरोपमा पक्राउ परेका कृष्णदास गिरी ‘सिद्धबाबा’लाई २४ दिन हिरासतमा राखिने भएको छ। प्रहरीले पाँचौ पटक म्याद थप ग....

विराटनगर, पुस ८ : बलात्कारको आरोपमा पक्राउ परेका कृष्णदास गिरी ‘सिद्धबाबा’लाई २४ दिन हिरासतमा राखिने भएको छ। प्रहरीले पाँचौ पटक म्याद थप गरेसँगै उनले २४ दिन हिरासतमा बस्नु पर्ने भएको हो।
सुनसरीको वराहक्षेत्र नगरपालिका–२ चतराधामस्थित आश्रममा बस्दै आएका सिद्धबाबालाई उनकी एक अनुयायीले बलात्कार गरेको आरोप लगाएकी थिइन्। २०७६ कात्तिक ४ गते सिद्धबाबाले बलात्कार गरेको उनले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन्।
बलात्कारको आरोप लागेपछि सिद्धबाबा मंसिर १२ गते विराटनगरको मुनालपथस्थित विराट नर्सिङहोममा भर्ना भएका थिए। प्रहरीले मंसिर १६ गते नर्सिङहोमबाटै पक्राउ गरेको थियो।
तर, सामान्य प्रकाररको हृदयघात भएको भन्दै उनी मंसिर १५ गते आईसीयूमा भर्ना भएका थिए। अदालतले उनलाई अस्पतालमै राखेर अनुसन्धान गर्न आदेश दिएको थियो।
जसले गर्दा प्रहरीले उनमाथि नर्सिङहोममै अनुसन्धान गरिरहेको छ। उनलाई नर्सिङहोमबाट अक्सिजनसहितको एम्बुलेन्समा राखेर अदालत ल्याउने÷लैजाने गरेको छ। पछिल्लो समय उनलाई आईसीयूबाट निकालेर डेन्टल विभागको डिलक्स क्याबिनमा राखिएको छ।
पाँचौ पटक अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको छ। अदालतले तीन दिनको म्याद थप गरेरसँगै उनलाई २४ दिन हिरासतमा राखिनेछ।
यस अघि प्रहरीले पहिलो पटक चार दिन, दोस्रो पटक मंसिर २० गते पाँच दिन, तेस्रो पटक मंसिर २७ गते सात दिन र चौथो पटक मंसिर ३० गते सात दिन हिरासतमा राख्न अनुमति लिएको थियो।
अब उनीमाथिको अनुसन्धान अन्तिम चरणमा पुगेको प्रहरीले जनाएको छ। अस्पतालमा बसिराखेकाले अनुसन्धानमा समय लागेको प्रहरीको भनाइ छ। यो पटकको म्याद सकिँएसँगै उनीमाथि बलात्कारको मुद्दा दर्ता गरिने जनाएको छ।











