Kathmandu Press

बाग्मती प्रदेशमा सत्ता गठबन्धनलाई स्पष्ट बहुमत, मुख्यमन्त्रीमा इन्द्र बानियाँ कि शालिकराम ? 

११० सदस्यीय बाग्मती प्रदेशसभामा सत्ता गठबन्धनले ६५ सिट जितेको छ ।
बाग्मती प्रदेशमा सत्ता गठबन्धनलाई स्पष्ट बहुमत, मुख्यमन्त्रीमा इन्द्र बानियाँ कि शालिकराम ? 

काठमाडौं, मंसिर २२ : बाग्मती प्रदेशमा सरकार गठनका लागि सत्तारुढ गठबन्धनलाई सहज हुने भएको छ । ११० सदस्यीय प्रदेश सभामा गठबन्धनको स्पष्ट बहुमत पुग्दा सरकार गठनका लागि सहज हुने देखिएको हो ।

यसअघिको निर्वाचनबाट प्रदेश सभामा पहिलो पार्टी बनेको एमाले यसपालि दोस्रो पार्टी बनेको छ । प्रत्यक्ष र समानुपातिक गरी ३७ सिट जितेको नेपाली कांग्रेस वाग्मती प्रदेशमा पहिलो दलका रुपमा दर्ज भएको छ । 

त्यस्तै नेकपा एमालेले प्रत्यक्षमा १३ र समानुपातिकमा १४ गरी २७ सिट जितेको छ । सत्ता गठबन्धनमा रहेको नेकपा माअ‍ोवादी केन्द्रले प्रत्यक्ष र समानुपातिक गरी २१ सिट जितेको छ भने गठबन्धनको अर्को घटक एकीकृत समाजवादीले ७ सिट जितेको छ । 

यहाँ राप्रपाले १३ सिट जित्दा  नेपाल मजदुर किसान पार्टीले ३ सिट जितेको छ । त्यस्तै हाम्रो नेपाल पार्टीले २ सिट जितेको छ ।गठबन्धनमा रहेका दलहरुले प्राप्त गरेको सिट संख्या जोड्दा ६५ पुग्छ । बाग्मती प्रदेश सरकारको गठनका लागि ५६ सांसद भए पुग्छ । त्यसकारण यहाँ सत्ता गठबन्धनको सरकार बन्ने निश्चित देखिएको छ । 

यहाँ एमाले नेतृत्वको गठबन्धनमा ५० सांसद (एमाले ३७, राप्रपा १३)  पुग्छ । नेमकिपा र हाम्रो नेपाल पार्टीले समर्थन दिँदा पनि यहाँ एमालेको नेतृत्वमा सरकार बन्ने सम्भावना रहँदैन । यद्यपि, नेमकिपा प्रतिपक्षमा बस्दै आएको छ । 

बाग्मतीमा गठबन्धनकै सरकार बन्ने भएपछि यहाँ कुन दलको नेतृत्वमा सरकार बनाउने भन्ने विषयमा आन्तरिक छलफल सुरु भएको छ । गठबन्धनमा रहेका तीनै दलका सांसदहरुको मुख्यमन्त्री बन्ने दौडधुप सुरु भइसकेको छ । 

प्रतिनिधि सभा विघटनपछि उथलपुथल राजनीतिक अवस्थाका बीच गठबन्धनले बाग्मती प्रदेश सरकारको नेतृत्वका लागि नेपाली कांग्रेस र एकीकृत समाजवादीबीच रस्साकस्सी चलेको थियो ।

दुबै पार्टीले मुख्यमन्त्री दाबी गरेपछि आधाआधा कार्यकाल मुख्यमन्त्री चलाउने भद्र सहमति भएको थियो । सहमतिअनुसार एकीकृत समाजवादीका उपाध्यक्ष समेत रहेका राजेन्द्रप्रसाद पाण्डे बाग्मतीका मुख्यमन्त्री बने । पछि पाण्डेले मुख्यमन्त्री पद हस्तान्तरण नगरेपछि बानियाँ मुख्यमन्त्री बन्न असमर्थ रहे । 

अहिले प्रदेशमा ठूलो दलको हैसियत बनाएलगत्तै बानियाँले पुनः मुख्यमन्त्रीको दाबी गरेका छन् । नेपाली कांग्रेसभित्र सभापति शेरबहादुर देउवाका निकट मानिने बानियाँ पार्टीका प्रभावशाली नेतासमेत हुन् । उनी मकवानपुर क्षेत्रनम्बर २ को प्रदेशसभा (ख) बाट निर्वाचित भएका छन् । अघिल्लो पटक विश्वासघात ब्यहोरिसकेका बानियाँ यसपटक मुख्यमन्त्री बन्ने दौडमा छन् ।  

तर, केन्द्रमा गठबन्धनको सरकार बने पावर शेयरिङको आधारमा प्रदेश सभा भागबन्डा गर्दा माओवादीले बाग्मतीको नेतृत्व गर्ने सम्भावना पनि रहन्छ । अघिल्लो पटक एमाले सत्ताच्यूत हुँदा माअ‍ोवादी बाग्मतीको नेतृत्व लिन चाहन्थ्यो । तर एमाले सत्ताच्यूत हुनुको प्रमुख कारक आफूहरु रहेको दाबी गर्दै एकीकृत समाजवादीले प्रदेश १ र बाग्मतीको नेतृत्व गरेको थियो । 

माओवादी केन्द्रले बाग्मती प्रदेशको नेतृत्व गर्ने मौका पाएको अवस्थामा शालिकराम जम्मकट्टेल मुख्यमन्त्री बन्ने निश्चितकरिब छ । अघिल्लो पटकको प्रयास असफल भएपछि पुनः प्रयास गर्न जम्मकट्टेल प्रदेशसभाबाटै चुनाव लडेका हुन् । उनी धादिङ क्षेत्रनम्बर १ को प्रदेशसभा (ख) बाट निर्वाचित भएका छन् । 

जम्मकट्टेल हाल बाग्मती प्रदेश सरकारको आर्थिक मामिला तथा योजनामन्त्री छन् । 
 

प्रकाशित मिति: १७:०९ बजे, बिहीबार, मंसिर २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्