तस्बिरमा किराँत समुदायकाे उधौली
किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउने गर्दछन्।
काठमाडौं, मंसिर २२ : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बिहीबार पितृको मान र प्रकृतिको सम्मानका रुपमा किराँत समुदायले उधौली पर्व मनाएका छन्।

किराँत समुदायका याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा उधौली धुमधामसँग मनाउने गर्दछन्।

किराँत समुदायले आफूले लगाएको अन्नबाली पाकेपछि आफ्नो इष्टदेवतालाई चढाउने, खानका लागि अनुमति माग्ने तथा पितृलाई स्मरण गर्ने दिनलाई याक्खाले चासुवा, सुनुवारले फोलस्यादर, राईले उधौली सकेला र लिम्बूले चासोक तङ्नाम पर्वका नाममा मनाउँछन्।

बाली लगाउने बेलामा भने किराँत जातिमा यावा अर्थात् उभौँली पर्व मनाइने प्रचलन छ। भूमिपूजाका लागि किराँत महिला तथा पुरुष जातीय वेशभूषामा सजिएर च्याब्रङ बाजाको तालमा धाननाच नाच्दै पर्व मनाउने स्थानमा पुग्छन्। उपत्यकामा ललितपुरको सानो हात्तीवन किराँतकालदेखिको ऐतिहासिक धार्मिक तीर्थस्थल मानिन्छ।

किराँतको ऐतिहासिक पवित्र धार्मिकस्थल सानो हात्तीवनमा किराँत चाड विशेषरुपमा मनाइन्छ। किरात राई यायोख्याका केन्द्रिय अध्यक्ष जीवन हाताचो राईले आपूmले लगाएको अन्नबाली पाकेपछि प्रकृतिलाई धन्यवाद प्रकट गर्दै पितृ, भूमि र प्रकृतिलाई पूजा गरी नँया अन्न चढाएर यो पर्व मनाइएको जानकारी दिए।

उधौलीका अवसरमा ललितपुरको हात्तीवनमा रहेको साकेलास्थानमा पूजा आराधना गरी एक आपसमा शुभकामना आदान प्रदान गरी मनाइएको उनले बताए।

पूजापछि आआफ्नो परम्पराअनुसार चण्डीनाच, च्याब्रुङनाच, ढोलनाचलगायतका नाच नाचेर मनोरञ्जन गर्छन्। पर्व मनाउन त्यहाँ भेला भएका किराँतले आफ्नो परम्परगत साँस्कृतिक कार्यक्रम र विभिन्न खेलकुद प्रतियोगिता पनि आयोजना गर्ने परम्परा छ।

उभौलीमा खेतीपाती राम्रो होस् भनी पूजा गर्ने र उधौलीमा खेतीपाती राम्रो गरेकामा साकेला (भूमे) लाई धन्यवाद दिने पर्वका रुपमा मनाउने गरिएको विश्वाससमेत किराँत जातिमा छ। दुवै पर्वलाई किराँत समुदायले भव्यरुपमा मनाउँछन्।





1670492213.jpg)













