राष्ट्रिय स्वतन्त्र पार्टीमा भाँडभैलो, समानुपातिक सांसद चयनमा चलखेलको आरोप

काठमाडौं, मंसिर २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा समानुपातिक सांसद चयनको विषयलाई लिएर भाँडभैलो उत्पन्न भएको छ । समानुपातिकतर्फको सांसद छनोटमा चलखेल गरेको भन्दै बिहीबार पार्टीको केन्द्रीय कार्यालय बसुन्धारामा असन्तुष्ट नेता कार्यकर्ताले खबरदारी गरेका छन् ।
रास्वपाले प्राइमरी इलेक्सनमा पाएको मतको आधारमा समानुपातिक बन्दसूची तय गरेको थियो । तर बन्दसूचीलाई बेवास्ता गर्दै नेतृत्वले मनलाग्दी ढंगले समानुपातिकतर्फको सांसद चयन गरेको भन्दै नेता कार्याकर्ताले खबरदारी गरेका हुन् ।
प्राइमरी इलेक्सनमा धेरै मत ल्याएकालाई बाइपास गर्दै नेतृत्वले थोरै मत ल्याएकाहरुलाई सांसद बनाउन खोजेको भन्दै नेता कार्यकर्ताले पार्टी कार्यालयमै गएर खबरदारी गरेका हुन् ।
खबरदारी गर्न पार्टी कार्यालय पुगेका नेता कार्यकर्ताहरुले सुरुवातमा डिजिटल डेमोक्रेसीको कुरा गर्ने रास्वपा डिजिटल डेमोक्रेसीकै आधारमा चलोस् भन्नका लागि आफूहरुले दबाब दिएको बताएका छन् ।
प्रत्यक्षतर्फ देशैभरबाट ७ सिट जितेको रास्वपाले समानुपातिकमा १३ सिट जित्दै चौथो दल बनेको छ । निर्वाचन आयोगले तीन दिन भित्र समानुपातिकतर्फबाट सांसद बन्नेको नाम पठाउन सबै राजनीतिक दलहरुलाई निर्देशन दिइसकेको छ ।











