मेलबर्नको मञ्चबाट ‘छेक्यो छेक्यो देउराली डाँडा’का गीतकारको विदाइ
मेलबर्न, पुस ८ : नेपथ्यले मेलबर्नको मञ्चबाट गायक शुक गुरुङको विदाइ गरेको छ। उनको आइतबार निधन भएको थियो।
मेलबर्नको ‘द पाम एट क्राउन&rsq....

मेलबर्न, पुस ८ : नेपथ्यले मेलबर्नको मञ्चबाट गायक शुक गुरुङको विदाइ गरेको छ। उनको आइतबार निधन भएको थियो।
मेलबर्नको ‘द पाम एट क्राउन’ मञ्चमा सोमबार हाउसफुल दर्शकबीच ‘भेँडाको ऊनजस्तो’ गीत सुनाउने बितिक्कै गायक अमृत गुरुङले भने, ‘हिजो नेपथ्यले एउटा साथी गुमाएको छ। एउटा यस्तो संगीतकर्मी साथी जसले हामीलाई पहिलो हिट गीत छेक्यो छेक्यो दिएका थिए। म शुक गुरुङको सम्झनामा यसै मञ्चबाट हाम्रो हार्दिक श्रद्धान्जली अर्पण गर्न चाहन्छु। उनको आत्मालाई शान्ति मिलोस्।’
मृगौला रोगले पीडित संगीतकर्मी गुरुङको आइतबार विहान निधन भएको थियो। ‘शुकजीले नेपथ्यको प्रारम्भिक कालमा छेक्यो छेक्यो गाउन दिएर हामीलाई ठूलो गुन लगाए,’ अमृतले थपे, ‘उनको सम्झनाका रुपमा उनका कृति रहिरहने छन्।’
उनले यसो भनिरहेकै बेला अमृत र शुक गुरुङ साथै बसेको तस्बिर मञ्चको पृष्ठ भागमा देखाइएको थियो। ‘हामीबीचको अन्तिम भेटलाई यो तस्बिरले समेटेको छ,’ अमृतले गुरुङसँगको तस्बीर देखाउदै भने, ‘संगीतकार दाइ विक्रम गुरुङ र म उनलाई भेट्न गत अगस्त २६ तारिख पुगेको वलाको यो तस्बिर नै अन्तिम चिनो बनेको छ।’
त्यसपछि तस्बिर देखाइएको भित्तोतिरै फर्किएर अमृतले नमस्ते गरे र फेरि भने, ‘हार्दिक श्रद्धान्जली शुक गुरुङ।’ अमृतले जसै ‘छेक्यो छेक्यो’ गाउन सुरु गरे, हलभरिका दर्शकले त्यस गीतका प्रत्येक शब्दलाई अमृतसँगै गाएर साथ दिएका थिए।
त्यसपछि नेपथ्य कन्सर्ट नियमित सूची अनुसारै अघि बढेको थियो। ‘तालको पानी’ गाउँदाको क्षण हलभित्रको दर्शक उत्साह उत्कर्षमा पुगेको देखिन्थ्यो। अमृतले सदाजस्तै दर्शकलाई मुलुकको भ्रमण गर्न र यसका अथाह सुन्दरताको थप उत्खनन् गर्न आह्वान समेत गरे।
नेपथ्यको व्यवस्थापन संस्था नेपालयले यसपालाको अष्ट्रेलियाको यात्राका लागि सिड्नीस्थित संस्था ‘नेपाली टच’ सँग सहकार्य गरेको थियो भने मेलबर्नको स्थानीय आयोजक ‘नेप्ले इभेन्ट्स्’ थियो।
अमृतलाई स्टेजमा सँधैझैँ ड्रमसेटमा ध्रुव लामा, किबोर्डमा सुरज थापा, बेस गितारमा सुविन शाक्य, गितारमा निरज गुरुङ र मादलमा शान्ति रायमाझीले सघाएका थिए।
मेलबर्नको प्रस्तुती सकिएसँगै नेपथ्यको यस वर्षको श्रृंखलावद्ध अष्ट्रेलिया यात्रा सम्पन्न भएको छ। नेपथ्यको यो संगीत यात्रा नोभेम्बर १९ तारिख ब्रिसबेनबाट सुरु भएर डार्बिन, एडिलेड, होबार्ट, सिड्नी हुदैँ मेलवर्नमा आएर सम्पन्न भएको हाे।












