Kathmandu Press

प्रदेश १ सरकार गठनमा जसपा निर्णायक, कोको छन् मुख्यमन्त्रीका आकांक्षी ?

९३ सदस्यीय प्रदेशसभा कांग्रेस र एमाले नेतृत्वको गठबन्धनले समान ४६/४६ सिट पाएको छ । १ सिट ल्याएको जसपा सरकार गठनका लागि निर्णायक देखिएको छ ।
प्रदेश १ सरकार गठनमा जसपा निर्णायक, कोको छन् मुख्यमन्त्रीका आकांक्षी ?

काठमाडौं, मंसिर २२ : प्रदेश १ सरकार गठनमा उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी निर्णायक हुने देखिएको छ। प्रदेशमा समानुपातिकतर्फबाट मात्रै १ सिट जित्दा सरकार गठनको चाबी नै जसपाको हातमा पुगेको हो। 

९३ सदस्यीय प्रदेशसभा यसपालि एमालेका ४० सांसद रहनेछन्। एमालेले प्रत्यक्षबाट २५ र समानुपातिबाट १५ सिट जितेको छ। एमालेसँग तालमेल गरेको राप्रपाले प्रदेश १ मा ६ सिट पाएको छ। उसले प्रत्यक्षमा २ र समानुपातिकबाट ४ सिट जितेको छ। यसरी हेर्दा एमाले नेतृत्वको गठबन्धनबाट प्रदेश १ मा ४६ सांसदमात्रै रहेको देखिन्छ। 

यता कांग्रेस नेतृत्वको वाम लोकतान्त्रिक गठबन्धनका दलहरुले पाएको सिटसँख्या जोड्दा पनि ४६ नै पुग्छ। कांग्रेसले प्रत्यक्षमा १७ र समानुपातिकमा १२ सहित २९ सिट जित्दा माअ‍ोवादी केन्द्रले प्रत्यक्षमा ९ र समानुपातिकमा ४ गरी कुल १३ सिट जितेको छ। गठबन्धनको अर्को दल एकीकृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ गरी कुल ४ सिट जितेको छ। गठबन्धनले प्राप्त गरेको सिटसंख्या जोड्दा पनि ४६ नै पुग्छ। 

Hardik ivf

दुबैतर्फ ४६÷४६ पुग्दा १ सिट मात्र जितेको जनता समाजवादी पार्टी प्रदेश सरकार गठनमा निर्णायक बनेको हो। 

निर्वाचनको मुखमा सत्ता गठबन्धनबाट बाहिरिएर एमालेसँग तालमेल गर्न पुगेको जसपाले प्रदेश १ सरकार गठनमा एमालेलाई नै साथ दिने सम्भावना रहन्छ। निर्वाचन सकिएलगत्तै जसपामा पनि दुई धार देखिँदा सरकार गठनमा कोसँग मिल्छ भन्ने कुरा यकिन गर्न गाह्रो देखिन्छ। 

केहीदिनअघि जसपाका अध्यक्ष उपेन्द्र यादवले सार्वजनिक मञ्चबाटै चुनाव सकिएलगत्तै एमालेसँगको सहकार्य समाप्त भएको बताएका थिए। उनले सरकार गठनको छलफलका निम्ति सबैसँग खुला रहेको बताएका थिए। लगत्तै जसपाका संघीय परिषद् अध्यक्ष अशोक राईले उपेन्द्रको अभिव्यक्तिको खण्डन गर्दै पार्टीको आधिकारिक धारणा आउन बाँकी रहेको बताएका थिए। यस्तो अवस्थामा प्रदेश १ सरकार गठनमा जसपा एमालेतिर ढल्कन्छ या वाम लोकतान्त्रिक गठबन्धनसँग मिल्छ भन्ने कुरा हेर्न बाँकी छ। 

कोको छन् मुख्यमन्त्रीका आकांक्षी ? 

केन्द्रमा वाम लोकतान्त्रिक गठबन्धनको सरकार बन्दा पावर सेयरिङका आधारमा प्रदेश सरकार पनि बाँडफाँट गरिन्छ। यसअघि पावर सेयरिङकै आधारमा प्रदेश १ सरकारको नेतृत्व नेकपा एकीकृत समाजवादीबाट राजेन्द्र राईले गरेका थिए। 

राई यसपटक पनि मुख्यमन्त्रीका दाबेदार हुन्। त्यसैकारण उनी संघ छाडेर प्रदेशसभाको चुनाव लडेका थिए। प्रदेशसभामा प्रभावशाली उपस्थिति नभएपनि सत्तारुढ दलबीच केन्द्रमा हुने भागबन्डाबाट मुख्यमन्त्री पाउने झिनो आशामा उनी देखिन्छन्। 

प्रदेश १ को मुख्यमन्त्री बन्न कांग्रेसबाट तीन आकांक्षी देखिएका छन्। अघिल्लो सरकारमा आन्तरिक मामिला तथा कानुनमन्त्री रहेका केदार कार्की यसपटक मुख्यमन्त्रीको लबिङमा छन्। उनी कांग्रेसमा संस्थापन इतरपक्षका मानिन्छन्। संस्थापन पक्षबाट केन्द्रीय सदस्यद्वय अमृत अर्याल र प्रदीप सुनुवार पनि मुख्यमन्त्रीका दाबेदार छन्।  

प्रदेशमा पहिलो शक्ति बनेको एमालेबाट स्थायी कमिटी सदस्य हिक्मत कार्की मुख्यमन्त्रीका बलिया आकांक्षी हुन्। एमाले नेतृत्वको सरकार बने कार्की नै मुख्यमन्त्री बन्ने निश्चित छ।  कार्की एमाले नेतृत्वको गठबन्धन रहोस् भन्ने चाहन्छन्। सोही अनुसार जसपा पनि एमाले नेतृत्वको गठबन्धनमा आए कार्की मुख्यमन्त्री बन्ने छन्। 

निर्णायक शक्ति हुँदा सरकारको नेतृत्व जसले गरेपनि एउटा प्रमुख मन्त्रालय जसपाले पाउने निश्चित छ। 


 

प्रकाशित मिति: १३:१० बजे, बिहीबार, मंसिर २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्