गठबन्धनले नयाँ सरकार बनाए पनि स्थिरता दिन सक्ने सम्भावना छैन : सुरेन्द्र पाण्डे
उनले देश अप्ठेरो दिशामा जाने अवस्था आए एमालेले कांग्रेसलाई सघाउन सक्ने बताए।
चितवन, मंसिर २२ : एमाले उपाध्यक्ष सुरेन्द्र पाण्डेले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा रहेको सत्ता गठबन्धनले नयाँ सरकार बनाउने अवस्था देखिए पनि त्यसले देशलाई स्थिरता दिन नसक्ने सम्भावना भने नरहेको बताएका छन्।
प्रेस चौतारीद्वारा आज (बिहीबार) भरतपुरमा आयोजित पत्रकार सम्मेलनमा उनले धेरै दल मिलेर बनेको सरकारले राजनीतिक स्थिरता दिन नसक्ने बताएका हुन्।
‘गठबन्धनले सरकार बनाउने अवस्था देखिएको छ तर राजनीतिक अस्थिरता र आर्थिक संकट एकसाथ आउने सम्भावना छ,’ उनले भने, ‘राजस्व घट्दोक्रममा छ। राजनीतिक र आर्थिक संकट निम्तिएर देश कठिन अवस्थातिर जान सक्छ।’
उनले देश अप्ठेरो दिशामा जाने अवस्था आए एमालेले कांग्रेसलाई सघाउन सक्ने बताए। ‘देशलाई अप्ठेरै पर्ने अवस्था आयो भने एमालेले सरकारमा सहभागी नभएर पनि समर्थन गर्नुपर्ने अवस्था आउन सक्छ,’ उनले भने। उनले तत्काल वाम एकता वा वाम गठबन्धनको सम्भावना पनि नरहेको बताए।
पाण्डेले यसपटकको चुनावमा केही नयाँ दललाई रोजेर मतदाताले ठुला पार्टीलाई शंका, खबरदारी, आलोचना गर्नुका साथै चुनौती पनि दिएको बताए। यस्तो अवस्थालाई राम्ररी विश्लेषण गर्नुपर्ने आवश्यकता उनले औंल्याए। नयाँ दललाई अस्तित्व जोगाउने र पुरानालाई कमजोरी हटाउने चुनौती रहेको उनको भनाइ थियो।
उनले आफूले राम्ररी काम गर्दागर्दै पनि चुनाव हारेको उल्लेख गरे। आगामि निर्वाचनमा फेरि पहिलाकै क्षेत्रमा उम्मेदवार बन्नेगरी आफूले तयारी थालिसकेको उनको भनाइ थियो।











