समानुपातिकतर्फ प्रदेशमा पनि एमाले पहिलाे दल, कुन प्रदेशमा कुन दलले कति सिट जिते ?
प्रदेशसभाका ५५० सिटमध्ये २२० सांसदहरु समानुपातिक प्रणालीबाट चुनिन्छन् । राष्ट्रिय दल बन्नका लागि तीन प्रतिशत थ्रेसहोल्ड राखिएकोमा प्रदेशमा भने सदर मतको १.५ प्रतिशत ल्याउनुपर्छ ।
काठमाडौं, मंसिर २१ : निर्वाचन आयोगले प्रदेशसभातर्फ खसेको मतका आधारमा दलहरुले प्राप्त गर्ने सिट संख्या सार्वजनिक गरेको छ । बुधबार आयोगले सातै प्रदेशबाट प्रदेश सभा सदस्यका लागि दलहरुले प्राप्त गरेको मतका आधारमा सिट संख्या निर्धारण गरेको हो ।
प्रदेशसभाका ५५० सिटमध्ये २२० सांसदहरु समानुपातिक प्रणालीबाट चुनिन्छन् । राष्ट्रिय दल बन्नका लागि तीन प्रतिशत थ्रेसहोल्ड राखिएकोमा प्रदेशमा भने सदर मतको १.५ प्रतिशत ल्याउनुपर्छ । थ्रेसहोल्ड कटाएका दलहरुले मात्रै समानुपातिकतर्फको सिट पाउनेछन् ।
प्रतिनिधि सभाको समानुपातिक तर्फ पहिलो दल बनेको एमाले प्रदेशसभामा पनि पहिलो दलको हैसियत कायम गरेको छ । उसले प्रदेशसभाको समानुपातिकतर्फको कुल २२० सिटमध्ये ७० सिट प्राप्त गरेको छ ।
एमाले प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा बलियो देखिएको छ । बाँकी प्रदेशमा कांग्रेस र माओवादीकै हाराहारीमा एमालेले मत पाएको देखिन्छ । आयोगले सार्वजनिक गरेको विवरण अनुसार एमालेले प्रदेश १ मा १५ सिट, मधेश प्रदेशमा ८ सिट, बाग्मतीमा १४ सिट, गण्डकीमा १० सिट, लुम्बिनीमा ११ सिट, कर्णालीमा ५ सिट र सुदूरपश्चिममा ७ सिट जितेको छ ।
कांग्रेसको प्रतिस्पर्धा एमालेसँग
प्रत्यक्षतर्फ पहिलो दलको हैसियत बनाएको नेपाली कांग्रेस समानुपातिकमा भने दोस्रो स्थानमा छ । प्रदेश सभाको समानुपातिकतर्फ कांग्रेसले ६४ सिट पाएको छ । जसमध्ये प्रदेश १ मा १२, मधेशमा ९, वाग्मतीमा १२, गण्डकीमा ९, लुम्बिनीमा १०, कर्णालीमा ५ र सुदूरपश्चिममा ७ सिट ल्याएको छ । समानुपातिकतर्फ मधेश प्रदेशमा कांग्रेसले एमालेभन्दा एक सिट बढी पाएको छ ।
ठूलो अन्तरले माओवादी तेस्रो
केन्द्रमा थोरै सिटले तेस्रो बनेको माओवादी केन्द्र प्रदेशसभामा पनि एमाले र कांग्रेसभन्दा दोब्बर कम सिट जितेको छ । सातै प्रदेशको २२० सिटमध्ये माअोवादी केन्द्रले २९ सिटमात्रै जितेको छ।


माओवादीले प्रदेश १ मा ४, मधेश प्रदेशमा ४, बाग्मतीमा ७, गण्डकीमा ३, लुम्बिनीमा ४, कर्णालीमा ४ र सुदूरपश्चिममा ४ सिटमात्रै जितेको छ । आधार इलाका मानिने लुम्बिनी र कर्णालीमा पनि माओवादी अत्यन्त कमजोर देखिएको छ ।
राप्रपाको उदय
अघिल्लो निर्वाचनमा निकै सानो शक्तिका रुपमा देखिएको राष्ट्रिय प्रजातन्त्र पार्टी यसपालिको निर्वाचनबाट प्रदेशमा चौथो शक्तिका रुपमा उदाएको छ । संघमा भने राप्रपा पाँचौ शक्ति बनेको छ ।
राप्रपाले सातै वटा प्रदेशमा समानुपातिकतर्फ १७ सिट जितेको छ । आयोगको विवरण अनुसार राप्रपाले प्रदेश १ मा ४, मधेश प्रदेशमा १, बाग्मतीमा ६, गण्डकीमा २, लुम्बिनीमा २ र कर्णाली र सुदूरपश्चिममा एकएक सिट प्राप्त गरेको छ।
नेकपा एकीकृत समाजवादीले प्रदेशसभामा समानुपातिकतर्फ देशभर ९ सिट पाएको छ । त्यस्तै जनता समाजवादी पार्टीले ९, जनमत पार्टीले ९, नागरिक उन्मुक्ति पार्टीले ५ सिट पाउँदा राष्ट्रिय अन्य दलहरुले कम्तिमा १ सिटमात्रै पाएका छन् ।











