महिलामाथिकाे हिंसा अन्त्यका लागि सुरुवात घरबाटै हुनुपर्छ : मन्त्री रेग्मी
महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बुधबार आयोजना गरेको लैङ्गिक हिंसाको सम्बोधन र सेवा प्रवाहमा प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले सो कुरा बताएका हुन्।
काठमाडौं, मंसिर २१ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले महिलामाथि घरभित्रैबाट हिंसा भइरहेको भन्दै घरबाटै हिंसा अन्त्यको सुरुवात गर्नुपर्ने बताएकी छन्।
महिला हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयले बुधबार आयोजना गरेको लैङ्गिक हिंसाको सम्बोधन र सेवा प्रवाहमा प्रभावकारिता विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री रेग्मीले सो कुरा बताएकी हुन्।
महिला हिंसा अन्त्य गर्न पुरुषको पनि साथ र सहयोग आवश्यक रहेको उनले बताए। मन्त्री रेग्मीले लैङ्गिक हिंसा सम्बन्धी कार्यक्रम गर्दा महिला पुरुष बराबरी संख्यामा सहभागी गराउनुपर्नेमा जोड दिइन्।
उनले महिला हिंसा महिलाको मात्र नभई सबैको समस्या भएकाले महिला हिंसा उन्मूलन गर्न समाज, परिवार र राजनीतिक दलहरुलाई पनि सहभागी गराउनुपर्ने धारणा राखिन्।
राज्यले निर्माण गरेका ऐन तथा कानुनहरु कार्यान्वयन राजनीतिक दलहरुबाटै हुने भएकाले दलहरुलाई पनि समावेश गरेर छलफल अभियान चलाउनुपर्नेमा जोड दिइन्।
८० प्रतिशत जनसंख्या रहेको महिला, बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयलाई उपेक्षा गरी सबै भन्दा थोरै बजेट दिने गरेको उनले गुनासो गरिन्।











