सरकारका प्रवक्ता भन्छन्– जबरामाथिको महाभियोग निष्प्रभावी हुँदैन, नयाँ संसदले छलफल गर्छ
काठमाडौं, मंसिर २१ : सरकारले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथि लगाइएको महाभियोग निष्प्रभावी नहुने बताएको छ ।
बुधबार मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्ने क्रममा सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले महाभियोग निष्प्रभावी नहुने बताएका हुन् । उनले अब आउने नयाँ संसदमा त्यसबारेमा छलफल हुने जानकारी समेत दिए।
‘महाभियोगको विषय जिवितै छ। अब बस्ने प्रतिनिधि सभा बैठकमा यसबारे छलफल हुन्छ,’ उनले भने, ‘महाभियोग संसदको सम्पत्ति हो। नयाँ संसदमा यसबारे छलफल गरेर निर्णयमा पुग्छौं।’
बुधबार विहान संघीय संसदका महासचिव भरतराज गौतमले चोलेन्द्रमाथि लगाइएको महाभियोग निष्प्रभावी भएको जानकारी गराउँदै पत्र पठाएका थिए । पत्र प्राप्त भएपछि जबरा बुधबार नै सर्वोच्च अदालत जाने तयारीमा थिए । उनलाई अदालत प्रवेश गर्न नदिन वकिलहरु धर्नामा बसेका छन् ।





