संसद सचिवालयको पत्रपछि सर्वोच्चमा खैलाबैला, बारले बोलायो आकस्मिक बैठक

काठमाडौं, मंसिर २१ : झण्डै साढे ८ महिनादेखि निलम्वनमा रहेका प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च फर्काउन संसद सचिवालयले अकास्मात बाटो खोलिदिएपछि सर्वोच्च अदालतमा खैलाबैला मच्चिएको छ ।
संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले बुधबार बिहान चोलेन्द्रविरुद्धको महाभियोग निष्प्रभावी भएको भन्दै राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय, संवैधानिक परिषद्, सर्वोच्च अदालत, न्यायपरिषद् र प्रधानन्यायाधीशलाई पत्र पठाएपछि न्याय क्षेत्र तरंगित बनेको हो ।
पत्र प्राप्त भएपछि चोलेन्द्र आजै सर्वोच्च जाने तयारीमा छन् । उनले सर्वोच्चका कर्मचारीहरुलाई आफू २ बजे उपस्थित हुने जानकारी गराउँदै व्यवस्था मिलाउन निर्देशन दिएको बताइएको छ ।
सर्वोच्चमा उनी हाजिर हुने भएपछि सुरक्षा व्यवस्था कडा बनाइएको छ । पत्र सार्वजनिक भएसँगै अदालत परिसरमा उल्लेख्य संख्यामा प्रहरी खटाइएको हो ।
नेपाल बार एशोसियशनले संसद सचिवालयले पठाएको पत्र असंवैधानिक रहेको भन्दै आकस्मिक बैठक बोलाएको छ । बारका महासचिव अञ्जिता खनालले महाभियोग प्रस्ताव संसदमा कायम रहेको र संसदमा महासचिवले पत्र दिनु कानुन विपरित हुने बताउँदै थप छलफलका लागि बैठक बोलाइएको जानकारी दिइन् । बुधबार नै बसेको न्यायाधीशहरुको बैठकमा पनि सो विषयमा चर्चा भएको छ ।
सरकार गठनका क्रममा भाग खोजेको भन्दै विवादमा मुछिएका जबराविरुद्ध कानुन व्यवसायीहरुले आन्दोलन गर्दै आएका थिए । आज पनि जबरालाई संसद पस्न नदिने रणनीतिमा उनीहरु रहेका छन् ।











