प्रतिनिधि सभाको जोडघटाउ : दुबै गठबन्धनकाे बहुमत नपुग्दा सरकार गठनमा साना दल निर्णायक
काठमाडौं, मंसिर २१ : प्रतिनिधि सभातर्फ प्रत्यक्ष र समानुपातिक दुबैको मतगणना सकिएको छ । प्रत्यक्षतर्फको मतगणना यसअघि नै सकिएको भएपनि समानुपातिकतर्फको मतगणना मंगलबार रातीमात्रै सकिएको हो ।
निर्वाचन आयोगले थ्रेस होल्ड कटाउने दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या निर्धारण गरि पठाएको छ । जसमध्ये ३४ सिट ल्याएर नेकपा एमाले समानुपातिक तर्फ पहिलो दल बनेको छ । त्यस्तै ३२ सिट ल्याएर नेपाली कांग्रेस दोस्रो बन्दा माओवादी केन्द्र १४ सिटसहित तेस्रो बनेको छ । चौथो स्थानमा रहेको राष्ट्रिय स्वतन्त्र पार्टीले १३ सिट प्राप्त गर्ने भएका छन् ।
त्यस्तै राप्रपाले ७, जनता समाजवादी पार्टीले ५ र जनमत पार्टीले ५ सिट प्राप्त गर्ने भएका छन् । समानुपातिक तर्फ तीन प्रतिशत मत कटाएर यी सात राजनीतिक दल राष्ट्रिय पार्टीका रुपमा दर्ज हुनेछन् । माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)लाई भने राष्ट्रिय दल बन्न साढे १८ हजार हाराहारीमा मत पुगेन ।
पपुलर मतका आधारमा एमाले पहिलो भएपनि प्रत्यक्षतर्फ भने दोस्रो ठूलो दल कायम भएको छ । प्रत्यक्षतर्फ कांग्रेसले ५७ सिट प्राप्त गर्दै पहिलो पार्टी बनेको छ । गठबन्धनमै रहेको नेकपा माओवादी केन्द्र भने १८ सिटमा खुम्चिएको छ । त्यस्तै गठबन्धनका सहयात्री दलहरु नेकपा एकीकृत समाजवादीले प्रत्यक्षमा १० सिट जित्दा, लोकतान्त्रिक समाजवादी पार्टीले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेको छ ।
प्रत्यक्षतर्फ दोस्रो बनेको एमालेले प्रतिनिधिसभाका ४४ सिट जितेको छ । त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ७, राप्रपाले ७, जसपाले ७, नागरिक उन्मुक्ति पार्टीले ३, जनमत पार्टीले १ र नेपाल मजदुर किसान पार्टीले १ सिट जितेको छ । यसपालि ५ जना स्वतन्त्र उम्मेदवार पनि संसदमा सहभागि हुनेछन्।
२७५ सदस्यीय प्रतिनिधि सभा प्रत्यक्ष र समानुपातिक गरी नेपाली कांग्रेसका ८९ सांसद रहनेछन् । त्यस्तै एमालेको ७८, माओवादी केन्द्र ३२, राष्ट्रिय स्वतन्त्र पार्टी २०, राप्रपा १४, जसपा १२, र जनमत पार्टीका ६ सांसद कायम रहनेछ । अन्य दलका सांसदहरु थ्रेसहोल्डका कारण स्वतन्त्र रहनेछन् ।
गठबन्धनलाई बहुमत अपुग
प्रत्यक्ष र समानुपातिक दुबै निर्वाचनको अन्तिम नतिजा आएपछि अब सरकार गठनको प्रक्रिया सुरु हुनेछ । यसपालि राजनीतिक स्थिरता कायम राख्दै संविधानको रक्षा गर्ने उद्धेश्यका साथ चुनावमा सहभागी भएको सत्ता गठबन्धनलाई नयाँ सरकार गठन गर्न बहुमत नपुगेको देखिन्छ । कुल २७५ सांसद रहेको अवस्थामा सरकार गठन गर्न कम्तिमा १३८ सांसदको समर्थन आवश्यक रहन्छ । तर गठबन्धनमा रहेका कांग्रेस, माअोवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र राष्ट्रिय जनमोर्चाले प्राप्त गरेको सिटसंख्या जोड्दा १३६ मात्रै पुग्छ ।
सिके राउतको समर्थन भए गठबन्धनलाई सहज
सप्तरीमा जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराएलगत्तै जनमत पार्टीका अध्यक्ष सिके राउतले नेकपा माअोवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । भेटमा उनले सहकार्य गर्न सकारात्मक रहेको बताएका थिए ।
राउतले समर्थन गरे गठबन्धनको नेतृत्वमा सरकार बन्ने देखिन्छ । गठबन्धनसँग भएको १३६ र जनमत पार्टीको ६ सिट जोड्दा १४२ सांसदको समर्थन सहित सरकार सहज रुपमा बन्न सक्छ । तर, दलहरु धेरै हुँदा पावर सेयरिङमा समस्या उत्पन्न हुँदा सरकारको आयु पनि अनिश्चित हुनसक्छ ।
एमाले नेतृत्वमा सरकार बन्ने सम्भावना कति ?
चुनावी परिणाम सकिनै लाग्दा एमालेले पनि आफ्नो नेतृत्वमा सरकार गठन गर्नका लागि दलहरुसँग संवाद थालिसकेको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई टेलिफोन गरी मिलेर जान सक्ने सम्भावनाबारे कुराकानी गरेका थिए । तर, प्रचण्डले तत्काल ओलीसँग मिल्न सक्ने अवस्था नरहेको बताइसकेका छन् ।
ओलीले गठबन्धनबाहेकका दलहरुसँग सहकार्य गरेर सरकार गठन गर्ने विषयमा पनि छलफल गरिरहेका छन् । एमालेसँगको गठबन्धनमा रहेका एमाले, जसपा, राप्रपा मिल्दा १०४ सिटमात्रै पुग्छ । उसको नेतृत्वमा सरकार बनाउन थप ३४ सांसद आवश्यक पर्छ । सत्ता गठबन्धन बाहिर रहेका दलहरु राष्ट्रिय स्वतन्त्र पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति, र स्वतन्त्र जितेकाहरुलाई समेट्न सके एमालेले पनि आफ्नो नेतृत्वमा सरकार बनाउन का लागि झिनो बहुमत जुटाउन सक्ने सम्भावना रहन्छ ।