विष्णु पौडेलको जितविरुद्ध सर्वोच्चमा मुद्दा दायर

काठमाडौंं, मंसिर २१ : मंसिर ४ गते सम्पन्न प्रतिनिधि सभाको निर्वाचनमा धाँधली गरी रुपन्देही–२ बाट एमाले उम्मेदवार विष्णु पौडेललाई जिताइएको भन्दै सर्वोच्च अदालतमा मुद्दा दायर गरिएको छ ।
सो निर्वाचन क्षेत्रमा पौडेलका प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेलले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् । पौडेलले आफूलाई मतगणनास्थलमा जान समेत रोक लाई निर्वाचन अधिकृतले एकतर्फी रुपमा आफ्ना प्रतिस्पर्धीलाई निर्वाचित गराएको आरोप लगाएका छन् ।
रुपन्देही –२ बाट एमाले उम्मेदवार विष्णु पौडेल २७ हजार १४८ मत सहित प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका थिए । उनका निकटतम प्रतिस्पर्धी रास्वपाका गणेश पौडेलले २५ हजार ७८२ मत ल्याएका थिए ।
उनले रिट निवेदनमा नवनिर्वाचित विष्णु पौडेल, निर्वाचन आयोग, मुख्य निर्वाचन अधिकृतको कार्यालय रुपन्देही, निर्वाचन अधिकृतको कार्यालय क्षेत्र नं। २ र जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई समेत विपक्षी बनाएका छन् ।











