Kathmandu Press

जबराविरूद्धकाे महाभियाेग प्रस्ताव निष्क्रिय, आजै सर्वोच्चमा हाजिर हुने

आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएपछि जबरा सर्वोच्च अदालतको नियमित काममा फर्किन लागेका हुन्।
जबराविरूद्धकाे महाभियाेग प्रस्ताव निष्क्रिय, आजै सर्वोच्चमा हाजिर हुने

काठमाडौं, मंसिर २१ : निलम्बनमा परेका चोलेन्द्रशम्शेर जबरा प्रधानन्यायाधीशकै हैसियतमा सर्वोच्च अदालतमा हाजिर हुने भएका छन्।

आफूविरुद्ध दर्ता भएको महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएपछि उनी सर्वोच्च अदालतको नियमित काममा फर्किन लागेका हुन्।

संघीय संसद सचिवालयका महासचिव डा. भरतराज गौतमले जबरालाई महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र दिएका हुन्। आफूलाई कामकारबाही गर्न रोक नलगाउन माग गर्दै जबराले मंगलबार मात्रै संसद सचिवालयमा निवेदन दिएका थिए।

सोही निवेदनका आधारमा क्रममा महासचिव गौतमले उनलाई महाभियोग प्रस्ताव निष्क्रिय भएको जानकारीसहितको पत्र दिएका हुन् ।

जबराले निश्क्रिय भएको पत्र पाएको पुष्टि गर्दै आजै सर्वोच्चमा हाजिर हुन जाने बताएका छन्। उनको कार्यकाल यही मंसिर २७ गतेसम्म मात्र छ। 

सत्ता गठबन्धनले २०७८ फागुन १ गते जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरे पनि त्यसमाथिको कारबाही टुंगो नलाग्दै प्रतिनिधिसभाको कार्यकाल सकिएको थियो।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीलगायत दलका सांसदले महाअभियोग प्रस्ताव दर्ता गराएका थिए। महाभियोग प्रस्ताव दर्ता भएपछि पद स्वतः निलम्बनमा पर्छ।

प्रतिनिधिसभाले कारबाही अगाडि बढाउने गरी संसद सचिवालयलाई महाभियोग प्रस्ताव जिम्मा लगाएको थियो। अर्को प्रतिनिधिसभाको बैठक बस्नुअगावै चोलेन्द्रको कार्यकाल सकिनेवाला थियाे। तर महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएपछि उनका लागि सर्वाेच्चमा पूर्ववत् जिम्मेवारीमा फर्किने बाटाे खुलेकाे हाे।

प्रकाशित मिति: १२:३९ बजे, बुधबार, मंसिर २१, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्