आफ्नो कार्यालयको फोहोर आफैं व्यवस्थापन नगरे कारवाही गर्ने महानगरको चेतावनी
अन्यथा दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत असुल्ने चेतावनी महानगरपालिकाले दिएको छ ।
काठमाडौं, मंसिर २१ : काठमाडौं महानगरपालिकाले सरकारी तथा निजी कार्यालयहरुलाई आ–आफ्नो कार्यालय परिसरभित्रको फोहोरमैला ३५ दिनभित्रै आफैं व्यवस्थापन गर्न आग्रह गरेको छ ।
अन्यथा दण्ड जरिवाना गरिने र फोहोर मैला व्यवस्थापन गर्न लागेको खर्चसमेत असुल्ने चेतावनी महानगरपालिकाले दिएको छ ।
सरकारी तथा सार्वजनिक कार्यालय, संस्थान, विभिन्न प्रतिष्ठान, स्वास्थ्य तथा शैक्षिक संस्था, गैह्रसरकारी संस्था, कम्पनी तथा अन्य प्रकृतिका निजी कार्यालयको परिसर नियमित सरसफाइ नगरेका कारण यत्रतत्र छरिएर रहेका पुराना उपकरण तथा अन्य प्रकृतिका फोहोरमैलाले सहरको सुन्दरतामा ह्रास आएको महानगरपालिकाको ठहर गरेको छ।
त्यसैले काठमाडौं महानगरपालिकाको वातावरण तथा कृषि विभाग टेकुले आज एक सूचना जारी गर्दै सबै प्रकारका सरकारी तथा निज कार्यालयहरुले आफ्नो परिसरको फोहोर मैला आफैं व्यवस्थापन गरी सहरलाई सफासुघ्घर राख्न सहयोग गरिदिन आग्रह गरेको छ ।











