Kathmandu Press

गठबन्धनले नयाँ सरकार गठन गर्छ : नेता कोइराला

गठबन्धनले नयाँ सरकार गठन गर्छ : नेता कोइराला

विराटनगर, मंसिर २० : नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले गठबन्धनको नेतृत्वमा आगामी सरकार गठन हुने विश्वास व्यक्त गरेका छन। नेपालीका कांग्रेस महानगर समितिद्वारा आज यहाँ आयोजित नेका नेता गुरुराज घिमिरेद्वारा लिखित पुस्तक ‘बाटो बिराएको राजनीति’ पुस्तकको विमोचन गर्दै उनले आगामी सरकारले जनताले चाहेको सुशासन, भ्रष्टाचारको अन्त्य, विकास र समृद्धि पूरा गर्नुपर्नेजस्ता चुनौती रहेको बताए।

उनले भने, 'इतिहास रचेको कांग्रेस पार्टीको शाख र विचार आगामी दिनमा जोगाउन र राजनीतिलाई सही बाटोमा लग्ने जिम्मा युवा पुस्तामा हस्तान्तरण गर्नुपर्नेे छ।' नेता कोइरालाले कुनै विवाद विना एक ढिक्का भइ पार्टीलाई पुरानो अवस्थामा फर्काउनुपर्नेमा जोड दिए। उनले निर्वाचनमा कांग्रेसले प्राप्त सिट सङ्ख्या वृद्धि भए पनि सात प्रतिशत मत घटेकोमा गम्भीर हुनुपर्छ भन्दै यसका लागि स्वतन्त्र एक छानबिन समिति गठन गर्नुपर्ने बताए।

कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेसको नेतृत्वमा निर्माण हुने आगामी सरकारले सही ढङ्गबाट मुलुक सञ्चालन गरेर गुमाएको लाखौँ जनमत समेट्नुपर्ने बताए। उनले सरकार सञ्चालन गर्दा पूर्वाधार, शिक्षा, विकास निर्माण, स्वास्थ्य, रोजगारी सिर्जनासम्बन्धी काम गरेर जनताको मत जित्नुपर्नेमा जोड दिए। उनले आगामी सरकार निर्माण गर्दा नेतृत्वले जनता समक्ष स्पष्टता, प्रतिबद्धता जनाउनुपर्ने धारणा राख्दै पार्टीप्रति जनताको आकर्षण बढाउन मुलुकमा सुशासन, परिणाममुखी काम गर्नुपर्ने विचार राखे। नेता थापाले पार्टीले पाएको ऐतिहासिक मौकाको सही ठाउँमा प्रयोग गरेर लोकतन्त्रलाई संस्थागत, देशप्रति जिम्मेवार भइ समर्पित भइ ‘बाटो सुधारिएको राजनीति’  निर्माण गर्नुपर्ने बताए।

प्रदेश नं १ का आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीले राजनीतिक नेतृत्वले जे गर्न सक्ने हो त्यो मात्र बोल्न आग्रह गरे। नेकांका नेता एवं नवनिर्वाचित प्रतिनिधिसभा सदस्य चन्द्र भण्डारीले सरकारको नेतृत्वले आगामी पाँच वर्षभित्र गर्ने कार्यको दृष्टिकोण सार्वजनिक गर्नुपर्ने बताए। नव निर्वाचित मोरङका प्रतिनिधिसभा सदस्यद्वय अमनलाल मोदी र योगेन्द्र मण्डल, प्रदेशसभा सदस्यद्वय अमृत अर्याल र भीम पराजुली, विराटनगर महानगरपालिका प्रमुख नागेश कोइराला, महानगर समितिका सभापति दीपक चापागाईं र लेखक गुरुराज घिमिरेलगायतले जनताको विकास र समृद्धिको चाहना पूरा गर्न युवा पुस्ताले आगामी सरकारको नेतृत्व लिनुपर्ने धारणा व्यक्त गरे।

प्रकाशित मिति: १९:४२ बजे, मंगलबार, मंसिर २०, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्