उपेन्द्र यादवको भनाई व्यक्तिगत हो, पार्टीको आधिकारिक धारणा होइन : अशोक राई

काठमाडौं, मंसिर २० : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष अशोक राईले एमालेसँगको तालमेलका विषयमा अध्यक्ष उपेन्द्र यादवको भनाई व्यक्तिगत मात्रै रहेको बताएका छन् ।
धरानमा सञ्चारकर्मीसँग कुरा गर्दै राईले चुनावी तालमेल, पार्टीको हैसियत र निर्वाचनको नतिजाबारे पार्टीभित्र छलफल नभई अध्यक्ष यादवले बोलेका कारण उक्त अभिव्यक्ति व्यक्तिगत मात्रै रहेको बताएका हुन् ।
एमाले र जसपा गठबन्धन गर्दा पनि सप्तरी(२ बाट चुनाव हारेपछि अध्यक्ष उपेन्द्र यादवले आइतबार एक कार्यक्रममा एमालेसँगको चुनावी तालमेल सकिएको धारणा राखेका थिए । तर, सुनसरी क्षेत्र नम्बर १ मा एमालेकै सहयोगमा जितेका अशोक राईले अध्यक्ष यादवको धारणाको खण्डन गरेका हुन् ।
राईले केही दिनभित्र काठमाडौंमा छलफल गरेर कुन गठबन्धनमा लाग्ने भन्ने निष्कर्ष निकाल्ने जानकारी पनि दिए । जसपा, राप्रपा र एमालेबीच चुनावी तालमेल गरेर मंसिर ४ गतेको प्रदेशसभा सदस्य र प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दिएका थिए ।











