रवीन्द्र मिश्रको चुनावी खर्च साढे २४ लाख
काठमाडौं, मंसिर २० : राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले निर्वाचन आयोगमा चुनावी खर्च विवरण पेश गरेका छन् । मंगलबार मिश्रले आयोगमा निर्वाचन खर्च बुझाएको जानकारी सामाजिक सञ्जालमार्फत जानकारी दिएका हुन् ।
उनले मंसिर ४ गते सम्पन्न चुनावमा २४ लाख ४९ हजार ६०७ खर्च भएको जानकारी दिएका छन् । उनले चुनावका लागि शुभेच्छुकबाट निर्वाचनका लागि ३३ लाख सहयोग प्राप्त गरेको र त्यसमध्ये करिब साढे २४ लाख खर्च भएको बताएका हुन्।
मिश्रले ‘विचारभन्दा माथि देश’ र ‘राजनीतिसँगै राजकाज’ पुस्तकबाट प्राप्त हुने लेखकक्ष र त्यसमा थप रकम जोडेर २५ लाखको सिड मनि बाट ‘काठमाडौंं क्षेत्रनम्बर १ सरोकार कोष’ स्थापना गर्ने घोषणा गरेका छन् । चुनावी खर्चबाट उठेको रकमबाट बाँकी रहेको करिब साढे ८ लाख रुपैयाँ पनि सोही कोषमा जम्मा गर्ने बताएका छन् ।
मिश्रले निर्वाचनमा करोडौँ करोडको अपारदर्शी खर्चका कारण झनझन चुनावी विकृति बढिरेहको सन्दर्भमा निर्वाचनमा प्राप्त सहयोग, भएको खर्च र बचेको रकमबारे सबै उम्मेदवारले इमानदारीपूर्वक पारदर्शी हुने हो भने मात्र पनि निर्वाचन सुधार र लोकतन्त्रको उन्नयनमा उल्लेख्य रूपमा सकारात्मक असर पर्ने बताए।











