मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रुपमै काठमाडौं ल्याउने गृहकार्य अघि बढाउन माग
कांग्रेसका नेता प्रकाशमान सिंह नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रुपमै काठमाडौं ल्याउने गृहकार्य अघि बढाउन माग गरेका हुन्।
काठमाडाैं, मंसिर २० : नेपाली कांग्रेसका जनप्रतिनिधिहरुले मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रुपमै काठमाडौं ल्याउने गृहकार्य अघि बढाउन माग गरेका छन्।
कांग्रेसका नेता प्रकाशमान सिंह नेतृत्वको टोलीले मंगलबार प्रधानमन्त्री शेर बहादुर देउवालाई ध्यानाकर्षण पत्र बुझाउँदै मेलम्ची खानेपानी आयोजनाको पानी स्थायी रुपमै काठमाडौं ल्याउने गृहकार्य अघि बढाउन माग गरेका हुन्।
आर्थिक वर्ष २०७९/८० को बजेट वक्तव्यमा मेलम्ची खानेपानी विकास समिति खारेज गरेको उल्लेख भएकाले आयोजनाको काम कारवाहीमा अन्योलता देखिएको भन्दै नेता सिंहले तत्काल मेलम्ची खानेपानी विकास समिति ब्यूँताउनुपर्ने वा अन्य आवश्यक निर्णय लिनुपर्ने सुझाव दिए।
हाल हिउँद मात्र काठमाडौं उपत्यकामा वितरण हुँदै आएको मेलम्चीको पानीलाई बाह्रै महिना निर्वाध रुपमा काठमाडौं उपत्यकामा वितरणको व्यवस्था मिलाउन तत्कालीन र दीर्घकालीन रुपमा गर्नुपर्ने कामका बुँदाहरु सिंहले ध्यानाकर्षण पत्रमा उल्लेख गर्नुभएको छ।
त्यस्तै कांग्रेस नेता प्रदीप पौडेलले ६५ अर्ब भन्दा बढी राज्यको लगानी भएको मेलम्ची आयोजनालाई व्यवस्थित रुपमा सञ्चालन गर्न छुट्टै संयन्त्रण निर्माण गर्न आश्यक रहेको बताए।
ध्यानाकर्षण पत्र बुझ्दै प्रधानमन्त्री देउवाले मेलम्ची खानेपानी काठमाडौंका लागि अत्यन्तै महत्वपूर्ण आयोजना भएको भन्दै यसमा रहेका समस्या समाधान गर्न सरकार तत्पर रहेको बताउँदै मेलम्ची खानेपानी विकास समिति ब्युँताउन सरकार तयार रहेको बताए।
केही दिन अगाडि मेलम्ची खानेपानी आयोजना स्थल निरिक्षण गरेर फर्किएका नेता सिंहले प्रधानमन्त्री देउवालाई भेटेर ध्यानाकर्षण पत्र बुझाएका हुन्।











