Kathmandu Press

गठबन्धन बैठककाे निष्कर्ष- ‘निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकतालाई पुनः पुष्टि गरेको छ’

निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयङ्गम गर्दै गम्भीर समीक्षाका साथ अघि बढ्ने प्रतिबद्धता पनि बैठकले गरेको छ।
गठबन्धन बैठककाे निष्कर्ष- ‘निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकतालाई पुनः पुष्टि गरेको छ’

काठमाडौं, मंसिर १९ : पाँच दलीय सत्ता गठबन्धनले हालै सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनको नतिजाले गठबन्धनको आवश्यकता र सान्दर्भिकतालाई पुनः पुष्टि गरेको निष्कर्ष निकालेको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धनका शीर्ष नेताको बैठकले मुलुकका सामु विद्यमान चुनौतीहरूको सामना गर्नुपर्ने अवश्यकताले पनि यो गठबन्धनलाई निरन्तरता दिनु जरुरी रहेको समेत निष्कर्ष निकालेको छ।

बैठकपछि जारी विज्ञप्तिमा निर्वाचनको नतिजाले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको बाटोमा आपसी सहमति र सहकार्यका साथ मिलेर अघि बढ्नुपर्ने स्पष्ट सन्देश दिएको उल्लेख छ।

‘निर्वाचनको दौरानमा गठबन्धनले केन्द्रबाट स्पष्ट निर्णय र निर्देशन गर्दागर्दै पनि कतिपय निर्वाचन क्षेत्रमा केही असहयोग र असमझदारीका घटना देखिए । निर्वाचनका दौरानमा देखिएका ती असमझदारीहरूको पनि आगामी दिनमा उचित समीक्षा र सम्बोधन गरिनेछ’, शीर्ष नेताहरूद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ।

गठबन्धनप्रति आम मतदाताले दर्शाएको विश्वास र मायाप्रति आभार व्यक्त गर्दै बैठकले आम मतदाताको भरोसा र भावनालाई कदर गर्दै जनता र मुलुकको हितलाई केन्द्रमा राखेर आगामी दिनमा थप एकताबद्ध भएर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।

निर्वाचनमा अभिव्यक्त जनादेशले दिएको सन्देश समेतलाई हृदयङ्गम गर्दै गम्भीर समीक्षाका साथ अघि बढ्ने प्रतिबद्धता पनि बैठकले गरेको छ।

मुलुकको विशिष्ट परिस्थितिमा संविधान र लोकतन्त्रको रक्षाका लागि स्थापित गठबन्धनको सरकारले स्थानीय, प्रदेश र प्रतिनिधिसभा तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न गरेको छ । तीनै तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएसँगै लोकतन्त्र थप सुदृढ हुँदै संविधान अझ सुरक्षित भई मुलुक राजनीतिक स्थायित्व र समृद्धिको दिशातर्फ उन्मुख भएको बैठकले जनाएको छ।

 

प्रकाशित मिति: १९:२५ बजे, सोमबार, मंसिर १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्