Kathmandu Press

राष्ट्रपतिले मन परेका नेतालाई बोलाएर छलफल गर्नु गलत : रघुजी पन्त

काठमाडौं, पुस ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको राजनीतिभन्दा आफ्नो ....

राष्ट्रपतिले मन परेका नेतालाई बोलाएर छलफल गर्नु गलत : रघुजी पन्त
फाइल

काठमाडौं, पुस ७ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी कमिटी सदस्य रघुजी पन्तले राष्ट्रपति विद्यादेवी भण्डारीले पार्टीको राजनीतिभन्दा आफ्नो काम कारबाहीलाई ध्यान दिनु पर्ने बताएका छन्। 

काठमाडौंमा सोमबार आयोजित साक्षात्कारमा नेता पन्तले राष्ट्रपति जस्तो मर्यादित संस्था विवादमा तानिनु उचित नहुने बताएका हुन्। उनले पार्टीको स्थायी कमिटीको बैठक चलिरहेका बेला मन परेका नेताहरुलाई बोलाएर राष्ट्रपतिले छलफल गर्नु उचित नहुने बताए। 

उनले भने,‘हाम्रो पार्टीको स्थायी कमिटीको बैठक चलिरहँदा मन परेका नेताहरुलाई बोलाएर छलफल नगरेको भए राम्रो हुन्थ्यो। विवादमा आउने काम गर्नु राम्रो होइन।’ 
पन्तले राष्ट्रपति जस्तो मर्यादित संस्थालाई विवादमा तान्ने काम कसैले पनि गर्न नहुने पनि बताए। तर, स्वयम् राष्ट्रपति र राष्ट्रपति कार्यालयले पनि आफ्नो गतिविधि र काम कारबाहीमा ध्यान दिनुपर्ने उनको भनाइ छ। 

पूर्वमन्त्री समेत रहेका पन्तले हालै सम्पन्न भएको पार्टीको स्थायी कमिटी बैठकले पार्टीभित्र देखिएको गतिरोध र गतिहिनता तोड्ने काम गरेको बताए। पन्तले बैठकले पार्टीभित्र झाङ्गिँदै गएको गुटको समस्या पनि समाधान गर्न फलदायी बनेको टिप्पणी गरे। 

उनले स्थायी कमिटीको बैठक धेरै ढिला बसेको कुरा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि स्वीकारेको र यस सम्बन्धमा आत्माआलोचना गरेको बताए।

‘हाम्रो पार्टीको विधानअनुसार स्थायी कमिटीको बैठक तीन–तीन महिनामा बस्नुपर्ने हो। तर स्थायी कमिटीको बैठक एक वर्षपछि बस्यो। यस पटकको बैठकमा विभिन्न कोण र प्रतिकोणमा छलफल भयो। सरकारको काम कारबाहीबारे पनि समीक्षा भयो। जनतालाई राहत दिन नसक्दा सरकार लोकप्रिय हुन नसकेको भनेर साथीहरुले कुरा राख्नुभयो। सरकारका मन्त्रीहरुले राम्रै काम भैरहेकोबारे बताउनुभएको थियो,’ उनले भने।
 

प्रकाशित मिति: १५:५५ बजे, सोमबार, पुस ७, २०७६