पहिलो संसदीय यात्रामा प्रवेश गर्दै कार्की

काठमाडौं, मंसिर १९ : दोलखाबाट प्रतिनिधिसभा सदस्यमा नेकपा (माओवादी केन्द्र)का पोलिटब्यूरो सदस्य गङ्गा कार्की निर्वाचित भएका छन् ।
नेता कार्कीले ३६ हजार सात सय ९९ मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी नेकपा (एमाले)का बालकृष्ण शिवाकोटीले ३६ हजार चार सय ८२ मत प्राप्त गरे।
सत्ता गठबन्धनका तर्फबाट उम्मेदवार बन्नुभएका ५७ वर्षे कार्की दोलखाको जुँगु गाविस–७ फाल्टुकमा विसं २०२२ मा पिता टेकबहादुर कार्की र माता अमृतकुमारी कार्कीको कोखबाट पहिलो सन्तानका रुपमा जन्मिएका थिए। पार्टीमा उनी ‘विश्व’ उपनामले परिचित छन् ।
उनका जेठो छोरा विश्वास कार्की स्थानीय तहको निर्वाचनमा गौरीशङ्कर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका थिए । उहाँको राजनीतिक जीवन २०४२ सालबाट सुरु भएको हो । उनले विसं २०४८ सालमा नेकपा एकता केन्द्रको जिल्ला सचिव भएर काम गर्नुभएको थियो भने विसं २०४८ मा एकता केन्द्रको क्षेत्रीय ब्यूरो सदस्य पनि भएका थिए।
कार्कीले जनयुद्धको अवधिमा विसं २०५४ मा सोलु ओखलढुङ्गाको जिल्ला सचिव, २०५५ देखि साढे तीन वर्ष भोजपुर, सङ्खुवासभा, तेह्रथुम, ताप्लेजुङ र धनुषाको जिल्ला सचिव र इञ्चार्जको जिम्मेवारी पनि निर्वाह गरेका थिए।











