प्रतिनिधि सभामा प्रत्यक्षतर्फको मतगणना सकियो, समानुपातिकको अन्तिम चरणमा

काठमाडौं, मंसिर १९ : मंसिर ४ गते सम्पन्न निर्वाचनअन्तर्गत प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सकिएको छ । निर्वाचन भएको १५ दिनपछि प्रत्यक्षतर्फको मतगणना सकिएको हो ।
प्रत्यक्षतर्फ प्रतिनिधिसभको १६५ सिटमध्ये नेपाली कांग्रेसले ५७ सिट जित्दै पहिलो दल बनेको छ । दोस्रोमा रहेको नेकपा एमालेले ४४ सिट जित्न सफल भएको छ । नेकपा माओवादी केन्द्र १८ सिट जित्दै तेस्रो ठूलो दल भएको छ । नेकपा एकीकृत समाजवादीले १० सिट जित्दा राष्ट्रिय स्वतन्त्र पार्टीले १०, राप्रपाले ७ सिट, जसपाले ७ सिट, लोसपाले ४ सिट, नागरिक उन्मुक्ति पार्टीले १, राष्ट्रिय जनमोर्चाले १, नेपाल मजदुर किसान पार्टीले १ सिट, जनमत पार्टीले १ सिट जितेको छ । यसपालि ५ स्वतन्त्र उम्मेदवारले चुनाव जिते।
त्यसैगरी समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । सोमबार बिहानसम्म समाुनपातिकमा एमालेले सबैभन्दा धेरै २७ लाख ८८ हजार ३५६ मत ल्याएको छ । दोस्रोमा नेपाली कांग्रेसले म२६ लाख ६० हजार २४६ मत ल्याएको छ । त्यस्तै माओवादी केन्द्रले ११ लाख ६२ हजार १२४ मत ल्याउँदा राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ५४३ मत ल्याएको छ । त्यस्तै जनता समाजवादी पार्टीले ४ लाख २० हजार ९४६ मत ल्याउँदा जनमत पार्टीले ३ लाख ९४ हजार ५२३ मत ल्याएको छ ।
माधव नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीले अहिलेसम्म थ्रेसहोल्ड कटाएको छैन । उसले अहिलेसम्म २ लाख ९४ हजार ३६२ मत ल्याएको छ ।
समानुपातिकतर्फको मतपरिणाम अन्तिम चरणमा पुग्दा यसपालि संसदमा १२ दलको उपस्थिति हुने भएको छ । तीमध्ये थ्रेसहोल्डका कारण ७ दलले मात्रै राष्ट्रिय दलको मान्यता पाउनेछ ।











