देशभरका डिपोमा ४२ हजार मेट्रिक टन रासायनिक मल मौज्दात छ : कृषि मन्त्रालय
मन्त्रालयले आज (आइतबार) मल उपलब्धताबारे एक विवरण सार्वजनिक गर्दै अझै ४२ हजार ९८३ मेट्रिकटन मल मौज्दात रहेको जनाएको हो।
काठमाडौं, मंसिर १८ : कृषकले मल अभाव झेलिरहेकाे भनिएका बेला कृषि तथा पशुपन्छी विकास मन्त्रालयले देशभरका डिपोमा ४२ हजार मेट्रिक टन रासायनिक मल मौज्दात रहेको बताएकाे छ।
मन्त्रालयले आज (आइतबार) मल उपलब्धताबारे एक विवरण सार्वजनिक गर्दै अझै ४२ हजार ९८३ मेट्रिकटन मल मौज्दात रहेको जनाएको हो। मन्त्रालयले चालु आर्थिक वर्षको चार महिनामा ८६ हजार २४६ मेट्रिकटन रासायनिक मल बिक्री भएको पनि जानकारी दिएकाे छ।
चालु आवको कात्तिकसम्म कृषि सामग्री कम्पनीले ५७ हजार २१२ र कृषि सामग्री कम्पनीले २९ हजार ३३ मेट्रिक टन रासायनिक मल बिक्री गरेको विवरणमा उल्लेख छ।
कृषि सामग्री कम्पनीसँग ३५ हजार ४४९ मेट्रिकटन र साल्ट ट्रेडिङसँग ७ हजार ५३४ मेट्रिकटन मल मौज्दात रहेकाे मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले जानकारी दिए।
उनका अनुसार कृषि सामग्री कम्पनीसँग युरिया १५ हजार १७९ मेट्रिक टन, डिएपी १८ हजार ४३२ मेट्रिक टन र पोटास १ हजार ८३७ मेट्रिक टन मौज्दात छ।
त्यसैगरी साल्ट ट्रेडिङ कर्पोरेसनसँग ६ हजार ५८४ मेट्रिकटन युरिया, ८५४ मेट्रिकटन डीएपी र ९५ मेट्रिकटन पोटास मौज्दात रहेकाे बताइएकाे छ।
२ लाख ४५ हजार मेट्रिक टन युरिया मल आयातको चरणमा रहेको पनि मन्त्रालयको भनाइ छ। मन्त्रालयका अनुसार भारतसँग जिटुजीमा खरिद गरेको २ लाख ३० हजार मेट्रिकटन युरिया मल पुस पहिलो हस्तासम्म आइपुग्नेछ।











