भूकम्पबाट क्षतिग्रस्त ‘दरबार हाई स्कुल’ तयार
काठमाडौं, पुस ७ : बाहिरी आवरण हेर्दा लाग्छ पुरानै ‘दरबार हाई स्कुल’ हो, तर होइन। बाहिरबाट हेर्दा पहिले र अहिले खासै फरक नदेखिने रानीपोखरीस....

काठमाडौं, पुस ७ : बाहिरी आवरण हेर्दा लाग्छ पुरानै ‘दरबार हाई स्कुल’ हो, तर होइन। बाहिरबाट हेर्दा पहिले र अहिले खासै फरक नदेखिने रानीपोखरीस्थित ऐतिहासिक दरबार हाई स्कूल (भानु माध्यमिक विद्यालय)को पुनःनिर्माण लगभग सकिन लागेको छ। भूकम्पपछि शुरु गरिएको पुनःनिर्माणको काम झण्डै सकिँदा हाई स्कुल यस्तो देखिएको हो।
गोर्खा भूकम्पका कारण पूर्णरूपमा क्षति भएपछि आधुनिक निर्माण सामग्री प्रयोग गरी निर्माण भइरहेको यस विद्यालय पहिले जस्तै नै देखिन्छ। बाहिरी काम सकिएकाे भएपनि भित्री काम यही पुस महिनाभित्र सक्नेगरी निर्माणको काम भइरहेको छ। चीन सरकारको पूर्ण सहयोगमा निर्माण गरिएको यस भवनको ठेक्का चिनियाँ कम्पनी साङ्घाई कन्स्ट्रक्सनले लिएको छ।
तोकिएको समयमै सक्ने गरी चीन र नेपालका गरी दैनिक एक कामदारले काम गरिरहेका छन्। निर्माणको कामअन्तर्गत अहिले ढोका राख्ने, रङ लगाउने, आँगनको छेउमा पर्खाल लगाउने काम धमाधम भइरहेको छ भने अन्य काम सकिसकेको छ।
८५ करोडको लागतमा नौ रोपनी जमीनमा निर्माण गर्न लागिएको यो विद्यालयको भवन चारतले र ४० कक्षाकोठाको भएको छ। यस भवनको नमूना ‘चाइना एभिएसन प्लानिङ एन्ड डिजाइनिङ इन्स्टिच्युट’ले गरेको हो।
निर्माण व्यवस्थापक राजेन्द्र केसीले निर्माण सुरू भएको १९ महिनामै नेपाल सरकारलाई भवन हस्तान्तरण गर्ने गरी काम अघि बढिरहेको बताए। ‘आगामी माघ महिनामा सरकारलाई हस्तान्तरण हुन्छ,’ केसीले भने।
२०७२ मा गोरखा भूकम्पले पूर्णरूपमा क्षति पु¥याएको उक्त हाई स्कूलको पुनःनिर्माणको शिलान्यास गत साउन १८ गते भएको थियो। १९१० मा राणाका छोराछोरी पढाउन तत्कालीन प्रधानमन्त्री जङ्गबहादुर राणाको पालामा विद्यालय स्थापना गरिएको थियो। १९६४ मा संस्कृत पढ्नका लागि मात्र सर्वसाधारणका छोराछोरीलाई पनि खुला गरिएको विद्यालयमा २०४८ देखि अन्य विषय पनि पढ्न पाउने व्यवस्था भएको थियो।
२०३० मा राष्ट्रिय शिक्षा पद्धति ऐन लागू भएपछि उक्त विद्यालय जिल्ला शिक्षा कार्यालयमार्फत सञ्चालन हुँदै आएको छ। सुरूमा निर्माण गर्दा माटो, इँटा, सुर्की र चुना प्रयोग भएकामा मर्मतमा भने सिमेन्ट प्रयोग गरिएको थियो।
भूकम्पअघि उक्त भवनमा भानु मावि र संस्कृत मावि दुवै सञ्चालित थियो। हाल ती दुवै विद्यालयमा गरी तीन सय विद्यार्थी अध्ययनरत छन् भने ३५ शिक्षक कार्यरत छन्। ती विद्यार्थीलाई अहिले वाल्मीकि विद्यापीठको खाली स्थानमा टहरा बनाएर पठनपाठन गराइएको छ।
लामो समय काठमाडौँ महानगरपालिका र पुरातत्व विभागबीच नक्सापासको विषयमा कुरा नमिलेकाले भूकम्प गएको तीन वर्षपछि मात्रै यस विद्यालयको पुनःनिर्माणको काम शुरु भएको हो।
पछिल्लो सयम सरकारले स्थानीय तहलाई जिम्मा दिने गरी दरबन्दी मिलान, विद्यार्थी र शिक्षक सङ्ख्याको आधारमा एकापसमा विद्यालय गाभ्ने विषयलाई उच्च प्राथमिकताका साथ काम गरिरहेको छ। शिक्षकको सङ्ख्याका आधारमा विद्यार्थी अनुपात यस विद्यालयमा पनि कम छ। एउटा मावि विद्यालय सञ्चालन हुनका लागि ग्रामीण क्षेत्रको प्रत्येक कक्षामा ४० र शहरमा ५५ विद्यार्थी रहनुपर्ने कानूनी मान्यता छ।
दरबार हाई स्कुलको पुनःनिर्माणले त्यस आसपासलाई पनि सुन्दर बनाएको छ। विद्यालय पुनःनिर्माणपछि पठनपाठनका लागि सहज हुने संस्कृत माविका प्राध्यापक बद्री दाहालले बताए। (रासस)











