सकियो ‘निटफेस्ट-२०२२’
अर्थमन्त्री जनार्दन शर्माले महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै भने, 'सरकारले आवश्यक सहयोग गर्न नसकेको मैले महसुस गरेको छु। मेरो प्रयास योजना र नीतिगत तहमै सहयोग गर्ने रहनेछ।'
काठमाडाैं, मंसिर १८ : ‘नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव २०७९ ९निटफेस्ट २०२२०’को दोस्रो संस्करण सम्पन्न भएको छ। यही मङ्सिर ९ गतेदेखि काठमाडौँस्थित मण्डला नाटकघरमा महोत्सव आयोजना गरिएको थियो।
अर्थमन्त्री जनार्दन शर्माले महोत्सव समापन समारोहलाई सम्बोधन गर्दै भने, 'सरकारले आवश्यक सहयोग गर्न नसकेको मैले महसुस गरेको छु। मेरो प्रयास योजना र नीतिगत तहमै सहयोग गर्ने रहनेछ।'
मण्डलालाई कलेजको रूपमा सञ्चालन गर्ने तयारीलाई समेत सघाउने उनले जानकारी दिए। ‘सामाजिक रुपान्तरणका लागि रंगमञ्च : विविधताको उत्सव’ भन्ने नाराका साथ सुरु भएको महोत्सवमा १२ देशको १८ नाटक मञ्चन हुनुका साथै विभिन्न कार्यशाला, अन्तक्र्रिया, मास्टरक्लास पनि गरिएको थियो।
समापन कार्यक्रममा नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका उपकूलपति हरिहर शर्मालगायतका रंगकर्मीको सहभागिता रहेको थियो।
महोत्सवका निर्देशक सिर्जना सुब्बाले महोत्सवले रंगमञ्चलाई नयाँ ऊर्जा दिन सकेको बताइन्। समापनका दिन शनिबार ‘रंगमञ्च अभिनय र चलचित्र अभिनयका फरक आयाम’ शीर्षकमा छलफल भएको थियो।
आयोजक मण्डला थिएटरको ‘कुभिन्डाेको कथा’को प्रिमियर मञ्चन भएको थियो।












