Kathmandu Press

रास्वपामा भाँडभैलो : मकवानपुर जिल्ला सभापतिलाई कारबाही गर्न ४७ जनाले दिए सामूहिक उजुरी

रास्वपामा भाँडभैलो : मकवानपुर जिल्ला सभापतिलाई कारबाही गर्न ४७ जनाले दिए सामूहिक उजुरी

काठमाडौं, मंसिर १८ : रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीभित्र आन्तरिक द्वन्द्व सुरु भएको छ । पार्टीको सांगठनिक संरचना बन्न नभ्याउँदै रास्वपामा विवाद सुरु भएको हो । 

आइतबार पार्टीको मकवानपुर जिल्ला सभापति राजकुमार न्यौपानेलाई कारबाहीको माग गर्दै ४७ सदस्यले सामूहिक उजुरी दिएका छन् । न्यौपानेले स्वतन्त्र पार्टीका समानुपातिक उम्मेदवार नुरमान प्रजालाई लिएर नेपाली कांग्रेसका वाग्मती प्रदेश सभापति इन्द्रबहादुर बानियाँको घरमा लिएर गई विभिन्न प्रलोभनमा पारेको उजुरीमा उल्लेख छ । उनलाई पार्टीबाट हटाउन ४७ जना नेता कार्यकर्ताकोे हस्ताक्षरसहितको निवेदन मंसिर १२ गते नै केन्द्रीय कमिटीमा इमेलमार्फत पत्र पठाइएको बताइएको छ ।

‘सो कार्यबाट पार्टी र उम्मेदवारलाई ठूलो क्षति भएको हुँदा यस्तो कार्य गर्ने सभापतिबाट भोलिका दिनमा संगठन र पार्टीको प्रतिष्ठा कसरी बच्छ ? र बचाउन सक्छ ? भन्ने पार्टीमा व्यापक समिक्षा भएको हुँदा रा.स्व.पा. पार्टी प्रेमी एवम् परिवर्तनको पक्षमा लाग्ने सम्पूर्ण सदस्यज्यूहरुलाई व्यापक निराशा पैदा गरेको हुनाले निज सभापति राजकुमार न्यौपानेलाई कारबाही हुनुपर्दछन,’ निवेदनमा लेखिएको छ। 

उनीमाथि कारबाही नभए सम्पूर्ण सदस्यहरुले पार्टी छाड्ने चेतावनी समेत पत्रमार्फत दिइएको छ। 
 
उजुरीपत्रमा हस्ताक्षर गर्नेहरुमा मकवानपुर प्रतिनिधि सभातर्फ क्षेत्रनम्बर १ का उम्मेदवार टाकाराज थापा, क्षेत्रनम्बर २ का उम्मेदवार  भरत पराजुली, जिल्ला उपसभापति निराजन बर्तौला, जिल्ला सचिव राम प्रसाद अर्याल, जिल्ला सदस्य नवराज पौडेल लगायत  रहेका छन् ।

 

प्रकाशित मिति: १५:१४ बजे, आइतबार, मंसिर १८, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्