Kathmandu Press

‘अपांगता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो’

सरकारले अपांगता भएका नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा विशेष प्राथमिकता दिँदै उनीहरूको सामाजिक पुनःस्थापना, सामाजिक न्याय र संरक्षणको लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।
‘अपांगता भएका व्यक्तिको अधिकार पहुँच सुनिश्चित गर्नु सबैको दायित्व हो’

काठमाडौं, मंसिर १७ : प्रधानमन्त्री शेरबहादुर देउवाले अपांगता भएका व्यक्तिको हक अधिकारको संरक्षण र सम्वर्द्धन गर्दै उनीहरूलाई राज्यबाट प्रदान गरिने सेवा सुविधामा सहज र प्राथमिकतायुक्त पहुँच सुनिश्चित गर्नु सबैको साझा दायित्व भएको बताए।

३१औं अन्तर्राष्ट्रिय अपांगता दिवसका अवसरमा शुभकामना दिँदै प्रधानमन्त्री देउवाले नेपालको संविधानले आर्थिकरूपले विपन्न, अशक्त र असहाय अवस्थामा रहेका, असहाय एकल महिला, अपांगता भएका बालबालिका, आफ्नो हेरचाह आफैं गर्न नसक्ने तथा लोपोन्मुख जातिका नागरिकलाई कानुनबमोजिम सामाजिक सुरक्षाको हक हुने कुराको प्रत्याभूति गरेको उल्लेख गरे।

सोहीअनुसार सरकारले अपांगता भएका नागरिकलाई शिक्षा, स्वास्थ्य, रोजगारी आदिमा विशेष प्राथमिकता दिँदै उनीहरूको सामाजिक पुनःस्थापना, सामाजिक न्याय र संरक्षणको लागि सरकारले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको उनले बताए ।

संयुक्त राष्ट्र संघको आह्वानमा प्रत्येक वर्ष डिसेम्बर ३ का दिनलाई अपांगता भएका व्यक्तिको अन्तर्राष्ट्रिय दिवसका रूपमा मनाइँदै आइएको छ। यस क्रममा यस वर्ष ३१औँ अन्तर्राष्ट्रिय दिवस ‘समावेशी विकासका लागि रूपान्तरित समाधान स् पहुँचयुक्त र समतामूलक विश्वका लागि ऊर्जावान सिर्जनशीलताको प्रावधान’ भन्ने राष्ट्रिय नाराका साथ विभिन्न कार्यक्रम आयोजना गरी मनाउन लागिएको छ ।

प्रधानमन्त्री देउवाले अपांगताको गाम्भीर्यको आधारमा अपाङ्गता भएका व्यक्तिलाई राज्यबाट प्रदान गरिने सुविधामा क्रमशः वृद्धि गर्दै लगिएको अवगत गराउँदै अपाङ्गता भएका व्यक्तिलाई स्वावलम्बी बनाउन आत्मनिर्भर जीवन जिउन सक्ने परिस्थिति निर्माणका लागि सरकारले रोजगार तथा स्वरोजगारका लक्षित कार्यक्रम सञ्चालन गर्दै आएको बर्र्र्ताएका छन्।

उनले यस दिवसले अपांगता भएका व्यक्तिको संरक्षण र सशक्तीकरणका क्षेत्रमा कार्यरत सरकारी तथा गैरसरकारी संस्था र सम्बन्धित सबै सरोकारवालालाई अपाङंगता भएका व्यक्तिको हक, हित र अधिकार प्रवर्द्धनको क्षेत्रमा अझ बढी एकीकृत र समन्वयात्मक तरिकाले उच्च समर्पणभावका साथ कार्य क्षेत्रमा उत्रन थप प्रेरणा र ऊर्जा मिलोस् भन्ने शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति: १०:०० बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्