Kathmandu Press

किशोरी हत्या प्रकरणमा सशस्त्रका जवानविरुद्ध किटानी जाहेरी

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन्।
किशोरी हत्या प्रकरणमा सशस्त्रका जवानविरुद्ध किटानी जाहेरी

बैतडी, मंसिर १७ : एक किशोरीको हत्यामा संलग्न रहेको भन्दै सशस्त्र प्रहरीका एक जवानको नाममा किटानी जाहेरी परेको छ।

बैतडीको पञ्चेश्वर गाउँपालिका–४ सौलोडा गाउँकी २१ वर्षीया माया लुहारको हत्यामा संलग्न रहेको भन्दै मृतक किशोरीका आफन्तले सशस्त्र प्रहरीमा कार्यरत शिवनाथ गाउँपालिका–४ का २७ वर्षीय भरत कोलीको नाममा किटानी जाहेरी दिएका हुन्।

बुधबार दिउँसो शिवनाथ गाउँपालिका–६ शिवनाथ मन्दिर नजिकै घाँटी रेटेर हत्या गरेको अवस्थामा मायाको शव फेला परेको थियो । किटानी जाहेरी परेपछि कोलीको खोजी कार्य भइरहेको बैतडीका प्रहरीले जनाएको छ ।

यस्तै सोही ठाउँकी १५ वर्षीया किशोरी नेहा लुहार घाँटीमा धारिलो हतियार प्रयोग गरेर गम्भीर घाइते भएको अवस्थामा भेटिएकी थिइन् । नेहालाई रक्ताम्य अवस्थामा पञ्चेश्वर गाउँपालिका र शिवनाथ गाउँपालिकाको सीमास्थित बालाडाँडामा फेला पारिएको थियो।

घाइते नेहा लुहारको डडेल्धुरा अस्पतालमा उपचार भइरहेको छ। घाइतेसँग गरिएको सोधपुछका आधारमा भरत कोली घटनामा संलग्न रहेको खुलेको जनाइएको छ ।

माया र नेहा मंगललबार घरबाट लुगा सिउन भनी पञ्चेश्वरकै कुँलाउमा  भन्ने स्थानमा हिँडेका थिए। तर, बुधबारसम्म पनि घर नफर्केपछि घरपरिवार र प्रहरीले खोजतलास गरेको थियो । खोजतलास गर्दै जाँदा बुधबार मायाको शव फेला परेको थियो । नेहालाई घाइते अवस्थामा फेला पारिएको थियो ।

घटनाको सूक्ष्मरूपमा अनुसन्धानका लागि बैतडीका प्रहरी प्रमुख, प्रहरी नायब उपरीक्षक शाही नेतृत्वको टोली दुई दिनसम्म घटनास्थलमै बसेको थियो ।

फरार रहेका भरतको र मायाको पहिलादेखि नै फोन सम्पर्क भइराख्ने खुल्न आएको छ । प्रेमसम्बन्धमा रहेका माया र भरतको बिहे गर्ने समेत तयारी थियो । बिदामा घर आएका भरतले केही दिन अगाडि मायाको मोबाइल फोन नियन्त्रणमा लिएका थिए । मंगललबार मोबाइल लिन बोलाएकै बेला मायाको हत्या भएको हो।

 

प्रकाशित मिति: ०९:४४ बजे, शनिबार, मंसिर १७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्