Kathmandu Press

फोटो प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको फोटो उत्कृष्ट

काठमाडौं, पुस ७ : नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले सञ्चालन गरेको प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको तस्बिर प्रथम भएको छ । प्रतिष्ठान उपकुलपत....

फोटो प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको फोटो उत्कृष्ट
प्रतियोगिताका प्रथम भएको फोटो ।

काठमाडौं, पुस ७ : नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले सञ्चालन गरेको प्रतियोगितामा पाल्पाका मिथुन कुँवरले खिचेको तस्बिर प्रथम भएको छ । प्रतिष्ठान उपकुलपतिको सचिवालयको मुख्य आयोजना र वास्तुकला तथा अन्य सृजनात्मक कला विभागको सहकार्यमा आयोजित “सुन्दर नेपाल खुसी नेपाली” प्रतियोगितामा पाल्पाका कुँवरले खिचेको ‘पाल्पामा दशैँका लागि घरमा परम्परागत तरिकाले रङ लगाउँदै गरेको तस्बिरले प्रथम स्थान हासिल गरेको हो । 

यसैगरी प्रवीण श्रेष्ठले खिचेको भक्तपुरमा बेल विवाहमा रमाउँदै गरेकी बालिकाको तस्बिरले दोस्रो स्थान हासिल गर्दा दयासागर केसीको पाटन दरबारक्षेत्रमा पुनर्निर्माणका लागि काठमा बुट्टा कुद्दै गरेको तस्बिरले तेस्रो स्थान प्राप्त गरेको छ । स्कन्द गौतमको कुहिरोभित्र देखिएको गुम्बाकोे तस्बिरले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएको छ । नेपाल ललितकला प्रज्ञाप्रतिष्ठानले नेपाली कलावृत्तमा देखिँदै आएका विविध कलाआयामलाई सम्बन्धन गर्दै आएको छ भने कला विकास र यसको उन्नयनमा निरन्तर विविध काम गर्दै आएको छ ।

यसैक्रममा “कला फोटोग्राफी”को विशिष्टीकरणका लागि प्रतिष्ठानले “सुन्दर नेपाल खुसी नेपाली” शीर्षकमा फोटो प्रतियोगिता आयोजना गरेको थियो । प्रतियोगिताका लागि देशभरबाट २२१ फोटोग्राफरका करिब १ हजार फोटोहरु प्राप्त भएका थिए । नेपालका वरिष्ठ फोटोग्राफर मणि लामाको अध्यक्षता तथा केयु स्कुल अफ आर्टका सहप्राध्यापक तथा वरिष्ठ कलाकार सुजन चित्रकार र स्पेसेस म्यागजिनका प्रमुख कार्यकारी अधिकृत तथा वरिष्ठ फोटोग्राफर अशेष राजवंश सम्मीलित निर्णायक मण्डलले विजेतासहित उकृष्ट ७० वटा फोटोहरु छानेको हो ।

यस प्रतियोगिताका प्रथमले ४० हजार रुपैयाँ, द्वितीयले २५ हजार रुपैयाँ, तृतीयले १५ हजार रुपैयाँ र सान्त्वना स्वरूप १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताबाट छानिएका उत्कृष्ट ७० फोटोहरुको प्रदर्शनी यही २०७७ पौष ११ गते नेपाल ललितकला प्रज्ञाप्रतिष्ठान नक्सालमा हुनेछ । यसै कार्यक्रममा प्रतियोगिताको विजेतालाई पुरस्कार वितरण पनि गरिनेछ । 

प्रकाशित मिति: ०७:२५ बजे, सोमबार, पुस ७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्