उकेरा डटकमको सामग्री हटाएकोप्रति अनलाइन पत्रकार संघको ध्यानाकर्षण
सुप्रिम सहकारी आर्थिक संकटमा रहेको समाचारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे प्रकाशित समाचारसँगै अन्य समाचार समेत डिलेट गरिएको पाथसिडका अध्यक्ष सुरेश ढकालले जानकारी दिएका छन्।
काठमाडाैं, मंसिर १६ : पाथसिड नेपाल प्रालिबाट प्रकाशित उकेरा डटकमको सिएमएसमा अनधिकृत रुपमा प्रवेश गरी प्रकाशित सामग्री हटाउने कार्य भएकोमा अनलाइन पत्रकार संघको ध्यानाकर्षण भएको जनाएको छ।
सुप्रिम सहकारी आर्थिक संकटमा रहेको समाचारसँगै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता र राहदानी विवादबारे प्रकाशित समाचारसँगै अन्य समाचार समेत डिलेट गरिएको पाथसिडका अध्यक्ष सुरेश ढकालले जानकारी दिएका छन्।
लामिछानेको नागरिकता र राहदानीको विवादबारे उकेराडटकममा प्रकाशित समाचारबारे उक्त सञ्चार संस्थाका प्रधानसम्पादक केपी ढुंगानालाई सामाजिक सञ्जालबाट निरन्तर थ्रेट आइरहेकोप्रति पनि संघले आपत्ति जनाएको छ।
संघका अध्यक्ष डिल्लीप्रसाद सापकोटाद्वारा हस्ताक्षरित विज्ञप्तिमा घटनाको भत्सर्ना गर्दै छानबिन गरी दोषीमाथि कारबाहीको माग भनिएको छ।
‘प्रकाशित समाचारबारे कसैको चित्त नबुझेमा कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै सो प्रक्रिया आवलम्बन नगरी मिडिया र पत्रकारको सुरक्षा चुनौती बढाउने कार्य निन्दनीय छ,’ संघले शुक्रबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ, ‘संघ यस घटनाको भत्सर्ना गर्दै छानबिन गरि दोषीमाथि कारबाही र पत्रकारको सुरक्षाका लागि सम्बन्धित निकायको ध्यानाकर्षण गराउँछ।’