माओवादी केन्द्रसँग एकता गर्नेबारे कुनै निर्णय नभएको एकीकृत समाजवादीकाे स्पष्टाेक्ति
हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले भ्रममा नपर्न एकीकृत समाजवादीले सबैमा अनुरोध गरेकाे छ।
काठमाडौं, मंसिर १६ : नेकपा एकीकृत समाजवादीले तत्काल माओवादी केन्द्रसँग एकता गर्ने कुनै कुनै निर्णय नभएको बताएकाे छ। पार्टी महासचिव बेदुराम भुसालले आज (शुक्रबार) एक विज्ञप्ति जारी गरेर त्यसबारे स्पष्ट पारेकाे हाे।
भुसालले दुई पार्टी एकताबारे भइरहेको प्रचारप्रति एकीकृत समाजवादीको ध्यानाकर्षण भएको पनि बताएका छन्। एकाताबारेकाे प्रचार पूर्णतः निराधार भएकाले त्यसमा कुनै सत्यता नभएकाे विज्ञप्तिमा उल्लेख छ। पार्टी एकताको प्रचार गरेर भ्रम फैलाउन खोजिएको भुसालको आरोप छ।
‘नेपाली कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध बनाउनुपर्ने आवश्यकता छ भन्नेमा हामी प्रस्ट छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘तर अहिले त्यस सम्बन्धमा निर्णय त के कुनै छलफल, वार्ता वा संवाद केही पनि भएको छैन।'
हुँदै नभएको प्रचार गराएर भ्रम सिर्जना गर्न खोजिएकाले भ्रममा नपर्न एकीकृत समाजवादीले सबैमा अनुरोध गरेकाे छ।











