मुख्य १० शहरमा नेपथ्यको लाइभ कन्सर्ट, कहाँ कहिले ?

काठमाडौं, मंसिर १६ : मानवता प्रवर्द्धनका साथै मानवसेवा आश्रमको भवननिर्माण तथा अक्षयकोष स्थापनार्थ चर्चित साङ्गीतिक समूह नेपथ्य व्याण्डसँगको सहकार्यमा मानवसेवा आश्रमले नेपालका प्रमुख १० शहरहरुमा आयोजना गर्न लागेको ‘नेपथ्य लाइभ कन्सर्ट’ को सबै तयारी पुरा भएको छ ।
्‘मानवताका लागि सङ्गीत’ भन्ने नाराका साथ अन्तर्राष्ट्रियस्तरको उक्त लाइभ कन्सर्ट भोलि मङ्सिर १६ गते विराटनगरबाट शुरु भइ पुस १६ गते काठमाडौँमा समापन हुने बताइएको छ ।
विराटनगरपछि मङ्सिर १९ गते वीरगञ्जको आदर्शनगर रङ्गशाला, २२ गते हेटौँडाको भुटनदेवी स्कुल चौर, २५ गते भरतपुरको क्याम्पाचौर, २९ गते नेपालगञ्जको रङ्गशालामा कन्सर्ट हुने छ । यस्तै पौष ३ गते धनगढी रङ्गशाला, ६ गते सुर्खेतको खुल्लामञ्च, ९ गते बुटवलको कालिका मानवज्ञान मावि सेक्टर २ ९रामनगर० मैदान, १२ गते पोखराको प्रदर्शनी केन्द्रमा र अन्तिम दिन अंग्रेजी नयाँ वर्षको अघिल्लो रात १६ गते काठमाडौँको भृकुटीमण्डपमा कन्सर्ट हुने छ।
यसअघि सङ्गीतमार्फत विभिन्न सामाजिक मुद्दालाई स्थापित गराउँदै समाजमा सचेतना जगाउने अभियान सञ्चालन गर्दै आएको नेपथ्य व्याण्ड यसपटक भने मानवीय सेवाभाव राखेर मानवसेवा आश्रमसँग सहकार्य गरी देशव्यापी सङ्गीत यात्रामा सरिक हुँदैछ ।
मानवसेवा आश्रम सहयोगापेक्षी (बेसहारा, असक्त, असहाय, अनाथ, अभिभावकविहिन, मानसिक तथा शारीरिकरुपमा कमजोर) सडकआश्रित मानवहरुको मानवोचित व्यवस्थापन, औषधोपचार, पालनपोषण र जीवन रक्षा गर्दै परिवार खोजेर पुनःमिलनसमेत गराउने अभियानमा एक दशकदेखि सक्रिय रहेको संस्था हो ।
हेटौँडामा मुख्य कार्यालय रहेको मानवसेवा आश्रमले १९ जिल्लाका २३ सेवा केन्द्रबाट सेवा दिइरहेको छ । हाल देशैभर गरेर झण्डै एक हजार ६०० सडक आश्रित मानवहरुलाई सेवा पाइरहेका छन् । आश्रम अहिले विसं २०८२ सालसम्ममा नेपालका सडकपेटीलाई सडकआश्रित मानवरहित बनाउने योजनाका साथ अघि बढेको छ।
सडक तथा प्रतिक्षालयहरुमा भेटिएका मानवहरुलाई देश÷विदेशमा रहनु व्यक्तिहरुको मुठ्ठिदानको सहयोगमा आश्रमले संरक्षण गर्दै आइरहेको छ । तर कतिपय अबस्थामा व्यक्तिहरुबाट प्राप्त आर्थिक तथा जिन्सी सामाग्री मात्रैले मानवसेवा आश्रममा आश्रित मानवहरुको खाना र नानाको व्यवस्थापनमा समेत कठिन अबस्था झेल्नुपरिरहेको आश्रमका केन्द्रीय अध्यक्ष रामजी अधिकारी बताउँछन्।
भाडामा रहेको आश्रमका सेवा केन्द्रहरुले दाताको सहयोगमा मात्रै भाडा तिर्नसक्ने अबस्था नरहेकाले आश्रमले आफ्नै भवन निर्माण बनाउन लागेको अध्यक्ष अधिकारीले जानकारी दिए । यसका अलावा सयौँको संख्यामा रहेका असहाय असक्त, अभिभावकविहिन, शारीरिक तथा मानसिक रुपमा अति कमजोर मानवहरु आश्रित मानवसेवा आश्रमका लागि कुनै पनि प्रकारका विपत्ति, भवितव्य वा कठिन परिस्थितिमा प्रयोग गर्न मिल्नेगरी कम्तिमा रु २५ करोड बराबरको अक्षयकोष स्थापना गर्नु अति आवश्यक रहेको उनले बताए।
सोही क्रममा मानवसेवा आश्रमको भवननिर्माण तथा अक्षयकोष स्थापनाका लागि अर्थ सङ्कलन गर्ने उद्देश्य बोकेर यसपटक नेपालका प्रमुख १० शहरहरुमा नेपथ्य लाइभ कन्सर्ट आयोजना गर्न लागिएको अधिकारी बताउँछन्। त्यस कार्यक्रमको टिकट विक्री, प्रायोजन तथा सहप्रायोजनबाट सङ्कलित रकम मानवीय कार्यमा नै खर्च गरिने उनले जानकारी दिए।











